हामी पछाडि कालो दिनमा फर्किने कुनै सम्भावना छैन : सचेतक बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका छन् ।

सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरूमा निराशा र आक्रोश बढेको बताएका हुन् ।

जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उनले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए ।

उनले आक्रोशित जनसमुदायलाई व्यवस्था विरोधी बनाउन र शासकीय प्रवन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवा सपना मात्रै हुने बताए । उनले व्यवस्था र संविधानका विरुद्धमा हुने गतिविधिहरूलाई निस्तेज पारिने पनि बताए ।

उनले भने ‘सरकारले ठिक ढंगले डेलिभरी दिन नसक्दा, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा सरकार स्वयं हिँड्न नसक्दा नागरिकहरूमा एक प्रकारको निराशा भयो । चरम महँगी छ । भ्रष्टाचार छ । तस्करी, कालोबजारी छ । त्यो नियन्त्रणमा आएन । जनताले प्रत्यक्ष त्यसको मार खेप्नु परेको अवस्था छ । जनताको आक्रोश भयो सरकारप्रति । जनतामा ठुलो निराशा आयो देशमा केही हुँदैन कि भन्ने नैराश्यता जनताको तहमा छ र त्यसले आक्रोश बढायो । निराशा बढायो । निराशा र आक्रोश बढेको जनतामा केही धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिहरूले सरकारको विरुद्धमा आक्रोश हो । सरकारसँग निराशा हो । तर धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिले आक्रोशित जनसमुदायलाई व्यवस्था विरोधी अभियान र व्यवस्था प्रणालीलाई आघात पार्न विद्यमान शासकीय प्रवन्धहरुलाई कमजोर बनाउन सकिन्छ कि भनेर त्यो आग्रह त्यतातिर संगठित गर्न खोजेको हो । त्यो असम्भव छ । त्यो दिवा सपना मात्रै हो । हामी यो व्यवस्थाको विरुद्धमा, संविधानका विरुद्धमा हुने सबै गतिविधिहरूलाई निस्तेज पार्नका लागि एमाले मैदानमा उभिएर त्यस्ता प्रतिक्रियावादी शक्तिहरु, सरकारको नालायकीपन, अर्कमण्यता, कमजोरी, बेइमानीका कारणले शासकीय प्रबन्ध विरुद्ध हुन खोजेका, धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति विरुद्ध एमाले सशक्त ढंगबाट उभिन्छ ।’

उनले व्यवस्था विरोधी स्वरहरू सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उनको भनाई छ । उनले गणतन्त्रको विकल्प नभएको बताए ।

उनले वर्तमान राजनीतिक व्यवस्था नढल्ने भएपनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले ठूला राजनीतिक दलहरू मौन बस्दा सरकारले फेरि पनि अस्थिरता, अन्यौलता र अराजकताको खेती गरेको हो कि भन्ने आशंका उब्जिएको बताए ।

उनले भने ‘हामी पछाडि कालो दिनमा फर्किने कुनै सम्भावना छैन । जनताले रगत र पसिना बगाएर आन्दोलनले स्थापित गरेको यो व्यवस्था हो । यो व्यवस्थालाई कसैले चुनौती दिएर यो ढल्ने, कमजोर हुने अवस्था छैन । तर नेतृत्वले कार्यशैलीमा, सरकारले आफ्नो डेलिभरी दिने कुरामा चुक्नुभएन । सरकार चुकिरहेको छ । यसप्रति पनि हाम्रो खबरदारी छ । व्यवस्थाप्रति नागरिकको भरोसा, विश्वास, प्रणालीप्रतिको आस्था र प्रेम बढाउँदै जानका निम्ति सरकारले डेलिभरी दिनुपर्छ । नागरिकको अपेक्षा अनुरूपको शासन अगाडी बढाउनुपर्छ । संसदका ठुला राजनीतिक दलहरू मौन बस्दा हामीलाई के लागेको छ भने सरकार फेरी पनि देशमा अस्थिरता, अन्यौलता, अराजकताको खेतीतर्फ स्वयं लागेको होइन ? भन्ने हामीलाई चिन्ता लागेको छ ।’

त्यसैगरी, नेकपा(माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले राजतन्त्र केवल कल्पना मात्रै भएको टिप्पणी गरे । उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने भारतको चाहना बमोजिम नेपालमा आन्दोलनहरू भइरहेको बताए ।

उनले भने ‘राजतन्त्र कल्पना हो । जसरी मानिसले राति सुतेको बेलामा सपना देख्छ त्यस्तै सपना देखाउन खोजिएको हो । र केही विदेशी शक्तिहरूको पनि खेल भइरहेको छ कि राजा आओस् र राजा आएपछि हिन्दु राष्ट्र कायम होस् । त्यो विदेशीको चाहाना हो । भारतको सोच हो कि नेपालमा पहिला हिन्दु राष्ट्र कायम भयो भने भारतमा पनि हिन्दु राष्ट्र कायम गर्छु भनेर योजनाबद्ध तरिकाले नेपालमा दुर्गा प्रसाईं जस्ता व्यक्ति, राप्रपालाई उचालेर आन्दोलन गराइरहेको छ ।’

उनले गणतन्त्रको औचित्य नसकिएको बताए । केही मानिसहरु कराउँदैमा गणतन्त्र समाप्त नहुने उनको भनाई छ । उनले राजदरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =