आजियाटाले गर्यो एनसेलबाट बाहिरिने घोषणा

काठमाडौं । दुर संचार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा बाहिरिने भएको छ ।
आजियाटाको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।
आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदका अनुसार नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै बाहिरिने निर्णय गरिएको हो ।
एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।
यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो । त्यसबेला आजियाटाले सेयर किनेको थियो । सेयर किनेको ७ बर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो ।
एनसेलको व्यापार लगातार खुम्चिंदै गएपछि आजियाटा नेपाल छोड्ने अवस्थामा पुगेको हो । सन् २०२२/२३ मा एनसेलको व्यापार ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । कम्पनीले २०२१/२२ मा ३९ अर्ब ७२ करोड, २०२०/२१ मा ४० अर्ब ४२ करोड र २०१९/२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको थियो । लगातार एनसेलको व्यापार घट्दै गएको छ ।








