बेलायत जाने ७१ जना नर्सको सूची सार्वजनिक

काठमाडौँ । बेलायतको स्वास्थ्य क्षेत्रका लागि ७१ जना नर्सहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । पाइलट प्रोजेक्टको रूपमा १०० जना नर्सहरूलाई पठाउनेगरी सूचना प्रकाशित गरिएको थियो ।

तीन महिने समय दिएर सूचना प्रकाशित गरिएको थियो । जसमा ७७५ जनाले अनलाइन मार्फत प्रोफाइल तयार पारे । तर, ७८ जनाको मात्रै मापदण्ड अनुसारका प्रमाणपत्र पेस गरेका थिए । तीमध्ये प्रारम्भिक चरणमा ७१ जनाको नाममात्रै अन्तर्वार्ताको लागि सार्वजनिक गरिएको छ ।

सरकारले अपेक्षा गरेको तुलनामा निकै कम आवेदन परेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डम्बर सुनुवारले मापदण्डका कारण कमले आवेदन दिएको बताए ।

आवेदन दिएका ७८ जनामध्ये १० जनाले मात्रै इन्टरनेशन इङ्लिस ल्याङ्गवेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षा दिएका थिए । यस्तै ६८ जनाले अक्यूपेशनल इङ्लिस टेस्ट (ओईटी) परीक्षा दिएका थिए ।

आईइएलटीएसमा सात अंक ल्याएको हुनुपर्ने मापदण्ड थियो । त्यस्तै ओईटीमा ‘बी’ ग्रेड ल्याएकाले आवेदन दिन पाउने मापदण्ड थियो ।

‘अंग्रेजी भाषा परीक्षा पास गर्न गाह्रो देखियो । कहिले त आईईएलटीएसमा ६ अंक ल्याएकाहरूले समेत आवेदन दिएका थिए । ओईटी केही सहज रहेछ । त्योमार्फत आवेदन दिने बढी देखिए,’ सुनुवारले भने ।

त्यस्तै दुई वर्षे कार्यानुभवका कारण पनि कम आवेदन परेको उनको भनाई छ । ‘पुराना नर्सहरूलाई आईईएलटीएस तथा ओईटी पास गर्न गाह्रो भयो । नयाँलाई भाषा परीक्षा पास गर्न गाह्रो हुने थिएन । उनीहरूलाई २ वर्षे कार्यानुभवले समस्या भयो । जसले गर्दा कम आवेदन परेको देखियो’ उनले भने ।

बेलायतले यसरी दक्ष नर्सहरू लगिरहेको अन्य देशको तुलनामा यो दर राम्रो रहेको उनको भनाई छ । अन्य देशमा यतिको संख्यामा समेत आवेदन नपरेको उनले बताए ।

अब अन्तर्वार्ता हुने र त्यहाँबाट छनौट भइसकेपछि बेलायत जाने अन्य प्रक्रियाअघि बढ्ने उनको भनाई छ ।

पाइलट प्रोजेक्टको रूपमा हेरिएको पहिलो चरणमा कम आवेदन परेपछि यसको सफलतामाथि प्रश्न उठ्न थालेको छ । सरकारले राम्रै आवेदन पर्ने आकलन गरेको थियो । तर, आवेदन नै कम परेपछि यसको सफलतामाथि सरकारी अधिकारीहरू नै विश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =