बालेनलाई प्रसाईंको प्रस्ताव– आन्दोलनमा आउनुस्, प्रधानमन्त्री बन्नुस्

काठमाडौं । व्यवस्था परिवर्तन गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन् ।
शनिवार काठमाडौंको सिफलमा आयोजित कार्यक्रममा प्रसाईंले कार्यकारी प्रधानमन्त्री बनाउने भन्दै आन्दोलनमा साथ दिन आग्रह गरेका हुन् ।
‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने’, प्रसाईंले भने, ‘तपाईँलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बनन्नुस् मलाई चाहिँदैन । आउनुस् पहिला यी महिलाका आखाका आँशु पुछौं । तपाईँ पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन् ।’
प्रसाईंले आफ्नो आन्दोलनले गणतन्त्रको जग हल्लाइ दिएकाले हिजो नजरबन्दमा राखिएको दाबी गरे । ‘मलाई हिजो सरकारले आङसाङ सुकीलाई जस्तो त्यो के रे ? (नजरबन्द)मा राख्यो, साँझ आएर सुरक्षाका लागि भन्यो’ प्रसाईंले भने ।
उनले आफ्नो आन्दोलनलाई मूलधारका मिडियाले समर्थन नगरेको गुनासो गरे । ‘मिडियाका १२ भाइहरूले हाम्रो आन्दोलनलाई सहयोग गरेनन्, तर पनि युट्युबका साथीहरूले गर्दा जनताले थाहा पाएका छन्’ उनले भने ।
प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएपछि उनले पशुपति मन्दिर नजिकैको सिफल चौरमा आन्दोलन गरेका थिए ।
बिहीवारको प्रदर्शनमा उल्लेख्य सहभागिता रहे पनि शनिवार उनको आन्दोलनमा सर्वसाधारणको उपस्थिति न्यून थियो ।
मधेशबाट आएका महिलाहरू कार्यक्रममा उपस्थित भएका थिए ।








