भिडन्तका लागि तयार रहन युवा संघलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जतिखेर पनि आन्दोलन गर्नुपर्ने भएकाले भिडन्तका लागि तयार हुन भ्रातृ संगठन युवा संघलाई निर्देशन दिएका छन् ।
युवा संघको दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादीले जहाँ भन्छन् त्यही भिडन्तका लागि तयार रहन निर्देशन दिएका हुन् ।
‘युवा संघले गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध बिहीवार गरेको प्रतिकार ठीक छ । अब प्रतिक्रियावादीहरूले कहाँ भेट्ने भन्छन् त्यहीँ भिडन्तका लागि तयार हुनुपर्छ । हामीले अब जतिसुकै बेला पनि विशाल आन्दोलन गर्नुपर्ने हुनसक्छ,’ उनल भने, ‘यसैले भिडन्तका लागि युवा संघ तयार हुनैपर्छ । युथफोर्स पनि भिडन्तका लागि तयार हुनुपर्छ । अब रुन्चे कुरा गरेर हुँदैन । बक्सिङ खेल्ने हो भने खुट्टाले राउन्ड किक हानेर बंगारा झारिदियो भनेर गुनासो गर्ने होइन, अब भिडन्तका लागि युवा संघ तयार हुने हो ।’
उनले मरेको प्रेतका नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र नआउने पनि बताए ।
बल्खुमा नारा, गन्तव्य केही थाहा नहुनेले गरेको हाहा–हुहुबाट सरकार त्यतिकैमा थर्कमान भएको पनि उनले बताए ।








