प्रसाईंलाई जिप्रका काठमाडौँले भन्यो : ‘गैरकानूनी हर्कत काठमाडौँमा चल्दैन’

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आन्दोलनलाई सुरक्षित बनाउन उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाएको बताएका हुन् । उनले बैठकमा काठमाडौँको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको बताए ।

उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरूमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पारे । उनले कानुन हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनी स्वरूप अनुमति बिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको बताए । उनले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा बिहीवार साँझ पत्रकार सम्मेलन गरी कानुनलाई चुनौती दिने र गैरकानूनी कार्यक्रम सार्वजनिक गरेको भन्दै गैरकानूनी हर्कत काठमाडौँमा नचल्ने चेतावनी दिए ।

उनी भन्छन्, ‘हिजोदेखि दुई वटा पक्षको काठमाडौँमा कार्यक्रम थियो । आज एउटा पक्षले त्यो कार्यक्रमलाई निरन्तर रूपमा अनिश्चित कालसम्म गर्ने भनेर अघि बढाइरहेको छ । त्यो सन्दर्भमा काठमाडौँको सुरक्षा चुनौती विश्लेषण गर्ने र यथोचित सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा हामी बसिरहेका छौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाडौँमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग कुनै पनि अनुमति नलिकन आज तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भई निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने, उहाँहरूमाथि आक्रमण गर्ने भन्ने अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले सो कार्यक्रमको सन्दर्भमा तीनकुने क्षेत्रमा अनुमति नलिकन पाइँदैन भनेका थियौँ, बल्खुमा गर्नु भन्दा उहाँहरू आजसम्म अनुमति लिन आउनुभएको छैन । काठमाडौँको सुरक्षा व्यवस्था कडा बनाएका छौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा छ । संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति, स्वतन्त्रता हक र बिना हातहतियार भेला जम्मा भई शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै यस्ता अराजक भीड जसले कानुन हातमा लिन खोजेको छ, त्यस्ता समूह र व्यक्तिलाई चेतावनी स्वरूप अनुमति बिना कार्यक्रम गर्न पाइँदैन भनेका छौँ । उहाँहरूले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानुनलाई चुनौती दिने र गैरकानूनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानूनी हर्कत काठमाडौँमा चल्दैन । उहाँलाई हामीले नजरबन्दमा राखेको छैन । उहाँ काठमाडौँ छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौँ ।’

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको र सुरक्षा प्रदान गरिएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *