विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजार स्वयंसेवक परिचालन: नेत्रबहादुर कार्की

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद् सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद् व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी गराएका हुन् ।

प्रवक्ता कार्कीकाअनुसार सूचीकृत भएका ती स्वयंसेवकहरूले विपद्का सूचना संकलन र प्रतिकार्य योजना निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । प्रधान कार्यालय र जिल्लास्थित कार्यालयहरूले नियमित रूपमा ‘र्याण्डम स्याम्पलिङ’ मार्फत स्वयंसेवकहरूसँग सम्पर्क समन्वय गरिरहेको उनले बताए ।

स्वयंसेवकहरूबाट प्राप्त सूचनाकै आधारमा सशस्त्र प्रहरीले आफ्नो योजना र प्रतिकार्यलाई थप प्रभावकारी बनाएको संगठनको दाबी छ । तराई क्षेत्रमा हुने डुबान र बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले अस्थायी तथा स्थायी प्रकृतिका विपद् प्रतिकार्य बेसहरू स्थापना गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद् कार्य सञ्चालन केन्द्र लगायतका निकायहरूसँग सशस्त्र प्रहरीका कर्मचारीहरूले २४ सै घण्टा समन्वय गरिरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

विपद्को समयमा समुदाय नै पहिलो ‘रेस्पोन्डर’ हुने भएकाले सामुदायिक सचेतना र तयारीमा जोड दिइएको उनको भनाइ छ । जलजन्य प्रकोपका तुलनामा आगलागी नियन्त्रणका विषयमा कम चर्चा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्दै उनले प्राप्त सुझावका आधारमा आगामी तयारीलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने ‘हामीले १ लाख ६८ हजारभन्दा बढी विपद् सूचकहरूको लगत राखेका छौँ, जसले स्वतःस्फूर्त रूपमा स्वयंसेवा गरिरहनुभएको छ । केही सीमित पालिकाहरूले उनीहरूका लागि आन्तरिक व्यवस्थापनबाट सञ्चार खर्च उपलब्ध गराएको पाइएको छ, तर अधिकांशले कुनै अपेक्षाबिना नै सूचना प्रवाहमा सहयोग गरिरहनुभएको छ ।’

प्रवक्ता कार्कीले विपद् व्यवस्थापनमा सञ्चारमाध्यमको रचनात्मक सुझाव आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =