प्रसाईंलाई नजरबन्द गर्ने कार्य अमानवीय, सरकारले तत्काल सच्याओस् : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको र उनका समर्थकलाई पक्राउ गरिएको भन्दै विरोध जनाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाए ।

मकालुखबरसंग संक्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले दुर्गा प्रसाईंलाई नजरबन्द गर्ने कार्य अमानवीय भएको बताए । उनले राप्रपाले सरकारको यस्तो कदमको भर्त्सना गरेको बताए ।

धरपकड र दमनले समस्याको समाधान नगर्ने भन्दै उनले सरकारलाई यो कदम तत्काल सच्याउन माग गरेका छन् ।

मकालुखबरसंग उनले भने–‘आज जे भइरहेको छ त्यसको राप्रपाले विरोध गर्छ । कुनै पनि मानिसको शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन पाउने, विभिन्न विरोध प्रदर्शन गर्न पाउने र संवैधानिक हकको विरुद्ध मान्छेलाई धरपकड गर्ने, नजरबन्द गर्ने जुन क्रियाकलाप भइरहेको त्यो कार्यको हामी विरोध गर्छौ । र सरकारले यो काम तत्काल सच्याओस्, दमन नै कुनै समस्याको समाधान होइन भन्ने कुरामा राप्रपा सरकारलाई आग्रह गर्छ । यो घटनाक्रमलाई एकदमै नजिकबाट र सतर्कतापूर्वक हेरिरहेका छौं ।’

अध्यक्ष लिङ्देनले प्रसाईंको आन्दोलनलाई राप्रपाले नजिकबाट नियालेको बताए । उनले अहिले नै प्रसाईंसंग सहकार्य गर्नै कुनै निर्णय नभएको बताए ।

उनले भने– ‘दुर्गा प्रसाईंका आफ्ना कुराहरु पनि एक अर्कामा बाझिएका छन् । हामीले त्यसलाई सतर्कतापूर्वक हेर्नुपर्न कुराहरू पनि छन् । सँगै जाने वा के गर्ने भन्ने विषयमा कुनै छलफल गरिएको छैन । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =