जेहेन्दार युवाहरू नै मुलुक छोडेर बाहिरिए, उच्चशिक्षा चुनौतीको सँघार पुग्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताएका छन् । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्ने प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
शिक्षा प्रणालीलाई थप सुधार गर्दै समयानुसारको पाठ्यक्रम र शैक्षिक स्तर बनाउँदै लैजानुपर्नेमा उनको जोड् छ । ‘नेपालको उच्च शिक्षा वास्तवमा चुनौतीपूर्ण सङ्घारमा उभिएको छ । एकातर्फ, गुणस्तरीय प्राविधिक एवम् व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवम् डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठुलो लगानी आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि राज्यले गर्ने लगानी पर्याप्त भएको छैन । अर्कातर्फ, मुलुकले लगानी गरेर उच्च अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवाहरू नै मुलुक छोडेर बाहिरिइरहेका छन् ।’
उनले विश्वविद्यालयहरूमा विद्यार्थीको अभाव भएकोबारे आफू जानकार रहेको बताए । ‘नेपालमा विश्वविद्यालयहरू खोल्न जत्रो होड छ, त्योभन्दा ठुलो मात्राको सङ्कट पर्याप्त विद्यार्थीको अभावले निम्त्याएको छ । यसमा गम्भीर भएर लाग्नुपर्छ,’ उनले भने ।








