दुर्गा प्रसाईंको घोषणा : अब व्यवस्था परिवर्तन नहुन्जेल ‘श्रीलंका स्टाइल’मा आन्दोलन हुन्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताएका छन्। पहिलो दिन बल्खुमा तनावपुर्ण प्रदर्शनपछि अब स्थान परिवर्तन गर्ने र आन्दोलन पनि व्यवस्था परिवर्तन नहुन्जेल जारी राख्ने दाबी गरे।
भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने प्रसाईंको तयारी छ। आज त्यहाँ युवा संघले प्रदर्शन गरेको थियो। आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने पनि प्रसाईंले घोषणा गरेका छन्।
पहिलोदिनको प्रदर्शनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अब ‘श्रीलंका स्टाइलले’ आन्दोलन गर्ने बताए।
‘अब व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने। हामी सिंहदरबार पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन। मासले जता भन्छ, जुलुस त्यतै जान्छ’, प्रसाईंले भने।
प्रसाईंले भोलिबाट सहभागि दोब्बर हुने बताए। ‘अब ७७ वटै जिल्लामा जनविद्रोह सुरु हुन्छ। हामी श्रीलंका स्टाइलले जाने प्लानमा छौं। श्रीलंकामा जस्तै नेतालाई जनताले जहाँ भेट्छन्, त्यहीँ मसाज गर्छन्’, प्रसाईंले भने।
प्रसाईंका समूहका २३ जना पहिलो दिनको प्रदर्शनमै झडपका क्रममा घाइते भएका छन्। प्रहरीले १५७ राउण्ड अश्रुग्यास र ५ राउण्ड रबरका गोलि प्रहार गरेको थियो।








