प्रचण्ड–बाबुराम बीचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको बीचमा अविश्वासको अन्त्य भएको बताएका छन् ।
बिहीबार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका श्रेष्ठले दाहाल र भट्टराईको बीचमा अविश्वासको अन्त्य भएकोले छिट्टै दुई पार्टीको एकता हुने बताएका हुन् ।
उनले दुई नेताका बीचमा कुनैपनि प्रकारको असमझदारी नभएको बताए । उनले क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न नभई एकताबद्ध भएर अगाडी बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्दै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरूमा भएको बताए ।
अध्यक्षद्वय दाहाल र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने उनले बताए । सहअध्यक्ष श्रेष्ठले एकता प्रक्रिया कुनैपनि बहानामा पछाडि नफर्किने बताए ।
उनले भने ‘वार्ता समितिले वार्ता गरेर एउटा वातावरण बनायो । त्यही वातावरणको जगमा दुईवटै पार्टीमा पार्टी एकता÷ध्रुविकरणको निम्ति पार्टी एकता÷ध्रुवीकरण संयोजन समिति बनाउने हाम्रो वार्ता समितिले दिएको सुझाव अनुसार अन्तर्गत नेपाल समाजवादी पार्टीले समिति बनाएको छ । प्रक्रिया यहीँ नै हो । यसलाई असमझदारी पनि नभनौँ । मैले हेर्दाखेरि कम्युनिकेसनको ग्याप भएको देखियो । त्यो कम्युनिकेसनको ग्यापलाई फुलफिल गर्ने काम हामीले गरिराखेका छौँ । उहाँहरूको बीचमा तारन्तार छलफलहरू भइराखेका छन् । मुख्यकुरा नेताहरूको सम्बन्ध केही होइन त म भन्दिनँ, तर बस्तुगत आवश्यकता के हो भन्नेकुरा नै महत्वपूर्ण भएको हुनाले अहिलेको वस्तुगत आवश्यकता भनेको हिजोका क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न, छुट्टाछुट्टै टुक्रा, टुक्रामा विभाजित भएर बस्नुभन्दा एकीकृत, एकताबद्ध भएर अगाडी बढ्नु आजको वस्तुगत आवश्यकता हो । जो सँग विचार, राजनीतिक एजेन्डाहरू मिल्छ, सबैकुरा मिल्छ उनीहरूको बीचमा पार्टी एकता नै गरेर जाने । त्यसको निम्ति नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको विचमा पार्टी एकताकै प्रक्रिया अगाडी बढाउने । तर फेरि यतिले मात्रै पुग्दैन । त्यसका लागि अरु पनि समाजवादी कार्यक्रम मान्ने समाजवादी शक्तिहरुलाई बृहत्तर ध्रुविकरणको प्रक्रियामा पनि लिएर जानुपर्ने हुन्छ । त्यसकारण हामीले एकता र ध्रविकरण शब्द राखेका छौँ । माओवादी केन्द्र सँगको पार्टी एकता माओवादी केन्द्र पनि रूपान्तरित हुने र नेपाल समाजवादी पार्टी पनि रूपान्तरित हुने नयाँ आधारमा, नयाँ एकता, नयाँ परिवेशमा नयाँ सोच र चेतनासहितको एकता आजको आवश्यकता हो । त्यो आवश्यकता दुई वटै पार्टी र दुई वटै पार्टीका शीर्ष नेताहरूले बोध गरिसकेको हुनाले यो प्रक्रिया अगाडी बढेको छ । प्रचण्ड र बाबुरामविचको अविश्वास दूर भएको छ । यो त भोलि समयले पनि बताउँदै जाला । मुख्यगरी प्रचण्ड या बाबुराम, उहाँहरूले देशको आवश्यकतालाई, अहिलेको वस्तुगत आवश्यकतालाई जुन ढंगबाट बोध गरिराख्नु भएको छ, अब अलग–अलग बसेर होइन, एकताबद्ध भएर जानुपर्छ जुन निष्कर्षमा पुग्नु भएको छ, र सिङ्गो दुईवटा पार्टी पंक्ति नै जुन निष्कर्षमा पुगेको छ, त्यसले एकतालाई चाँडै नै मूर्त रूप दिन्छ । यो प्रक्रिया पछाडि फर्किँदैन । अगाडी बढ्छ ।’
सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरु एकताबद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरूले चिन्ता गर्नुपर्ने विषय भएको बताए । प्रतिगामी शक्तिहरु एक हुनासाथ संघीयता, गणतन्त्र र संघीयता खारेज नहुने उनको भनाई छ ।
उनले नेपालबाट अब संघीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने बताए ।
उनले भने ‘अहिले जुन ढंगबाट पश्चगमनकारी शक्तिहरु, प्रतिगामी शक्तिहरु विभिन्न रूप रंगमा एकताबद्ध हुँदै जाने, उनीहरु केन्द्रित हुँदै जाने प्रवृत्ति देखा परिराखेको छ, हामी अग्रगामी शक्तिहरूले चिन्ता गर्नुपर्ने विषय हो । तर यतिकै आधारमा संघीयता खत्तम भइहाल्छ या गणतन्त्र खारेज भएर त्यसको ठाउँमा राजतन्त्र पुनः स्थापना हुन्छ । संविधान खारेज भएर ०४७ सालको संविधान ब्युँतिन्छ भन्नेजस्तो जुन कुराहरू हामीले सडकमा सुन्छौँ, यो कुरा सत्य होइन । गणतन्त्रलाई यो देशबाट अब कसैले पनि हटाउन सक्दैन । सङ्घीयतालाई यो देशबाट कसैले मास्न सक्दैन । दुई, चार जना केही व्यक्तिहरूलाई मन नपरेको हुनसक्छ । तर उनीहरूलाई मन परेन भन्न बित्तिकै संविधान च्यातिन्छ ? उनीहरूलाई मन परेन भन्ने बित्तिकै गणतन्त्र उल्टिन्छ ? त्यो सम्भव छैन ।’
सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेसपामात्रै नभई विगतमा जनयुद्ध, जनआन्दोलनमा सहभागी सबै शक्तिहरु पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।








