टर्कीले राष्ट्रपतीय प्रणाली कायम राख्ने

एजेन्सी । टर्की सरकारले हालको राष्ट्रपतीय प्रणालीलाई कायम राख्ने बताएको छ ।
आवश्यकताअनुसार संविधान सुधार गर्ने टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले बताए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हालै राष्ट्रपति निर्वाचन प्रणालीमा संशोधन गर्ने संकेत दिएका छन् ।
जसमा राष्ट्रपति पदका उम्मेदवारले कम्तीमा ५० प्रतिशतभन्दा बढी मतदाताको मत प्राप्त गर्नुपर्नेछ ।
उनले प्रणाली कार्यान्वयनको पहिलो वर्षमा आलोचनाहरू भएको बताए । देशको आवश्यकताअनुसार विधायिका र कार्यकारिणी प्रक्रियाहरूमा परिवर्तन र छलफल गर्न सकिने बताए ।
एर्दोगानले हालको संविधानलाई प्रतिस्थापन गर्न नयाँ संविधानको लागि जोड दिइरहेका छन् । जुन १९८२ मा अनुमोदन गरिएको थियो र त्यसपछि १९ पटक संशोधन गरिएको छ ।
२०१७ मा अन्तिम संशोधनले राष्ट्रपति प्रणाली लागू गरेको थियो ।
एर्दोगान सन् २००३ मा प्रधानमन्त्री बनेदेखि नै देशको नेतृत्व गर्दै आएका छन् । सन् २०१७ मा भएको संवैधानिक जनमत सङ्ग्रहले टर्कीको संसदीय प्रणालीलाई राष्ट्रपतीय प्रणालीमा परिवर्तन गरेपछि उनी २०१८ मा टर्कीको पहिलो कार्यकारी राष्ट्रपति बने ।
मे महिनामा एर्दोगान तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए । सत्तारुढ न्याय तथा विकास पार्टीले गत वर्षदेखि नै बडापत्रको मस्यौदामा काम गरिरहेको छ ।








