प्रेम चलाउने र नेविसंघको मुद्धाको बहस अन्तिम चरणमा

काठमाडौं । आफूमाथि आक्रमण गर्ने नेविसंघ कार्यकर्ताविरुद्ध जिल्ला अदालत काठमाडौंमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले दिएको मुद्दामा अन्तिम बहस सुरु भएको छ ।
न्यायाधीश विनोद खतिवडाको इजलासमा बुधबारदेखि सुरु भएको अन्तिम बहस बिहीबार पनि निरन्तर हुने जिल्ला अदालतले जनाएको छ । आज बहस नसकिएपछि इजलासले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । हेर्दाहेर्दैमा राख्नु भनेको यही इजलासले अर्को दिन पनि सुनुवाइ गर्नु हो ।
आजको बहसमा चलाउनेको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र संजेल लगायतले बहस गरेका थिए । उनीहरूले बहस गरेसँगै सरकारी वकिलको बहस सकिएको छ ।
सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका चार वकिलले बहस गरे । बाँकी वकिलको बहस सुन्ने समय नभएपछि भोलि पनि सुनुवाइ हुने भएको हो । प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालयमा कुटपिट भएको थियो । नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रूपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले कुटपिट गरेको आरोप छ ।
गत जेठ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय समेत गरेको थियो । त्यसविरुद्ध चलाउने सर्वोच्चसमेत पुगेका थिए । उक्त निर्णयविरूद्ध उनले अनशन समेत सुरु गरेका थिए । सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।








