माओवादीसँग पार्टी एकताका लागि समाजवादीले बनायो समिति

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्र लगायतसँग पार्टी एकता गर्न समिति गठन गरेको छ ।
अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टीले समिति गठन गरेको हो ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले समाजवादी केन्द्र निर्माणका लागि माओवादी लगायतका विचार, राजनीति मिल्ने शक्तिहरूसँग एकता र धुब्रीकरण गर्न समिति गठन गरेको हो ।
भट्टराईको नेतृत्वमा बनेको संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन् ।
मंसिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने निर्णय पनि भएको छ ।
माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने, वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि पार्टी केन्द्रीय समिति बैठकले गरेको छ ।
साथै केन्द्रीय समितिले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने निर्णय गरेको छ ।
सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय भएको नेता विश्वदीप पाण्डेले बताए ।








