सुर्खेत र चितवनबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना मंगलबार पक्राउ परेका छन् ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा, प्लेट १ थान र मोबाइल २ थानसहित वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३६ वर्षीय बलभद्र खत्री समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले खत्रीको घरबाट उक्त लागूऔषध लुकाई राखेको
अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
त्यस्तै चितवन, राप्ती नगरपालिका–५ मंगलटाडीबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन ६ सय ट्याब्लेट, ट्रमाडोल ६ सय ६० ट्याब्लेट र ट्रमाडोल ३० एम्पुल र नगद १८ हजार ९ सय ५० रुपैयाँसहित राप्ती नगरपालिका–५ बस्ने २७ वर्षीय सुनिल तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले
उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








