महिलाहरूलाई ओछ्यानमै आक्रमण हामीले गरेका होइनौं : अनेरास्ववियु

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राती सुतिरहेका महिलाहरूलाई ओछ्यानबाट लघार्ने घटनाप्रति आफूहरूको कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै अमानवीय र अशोभनीय ज्यादतीको भिडियो सामाजिक सञ्जालमा आइरहेकोमा मानवता विरोधी कार्यमा आयोजकको हिसाबले अनेरास्वयिुको कुनै संलग्नता नरहेको बताएका हुन् ।
उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो कोही भए पनि कानून बमोजिम कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– लोकतान्त्रिक व्यवस्थामा सबैलाई आफ्नो कुरा राख्नै बोल्नै अधिकार हुनाले अनेरास्ववियु कुनै पनि अराजकतालाई समर्थन नगरी केबल जनताको आवाज बुलन्द गर्ने मात्र सडकमा आएको हो ।
सरकारको अकर्मण्यता भण्डाफोर गर्न र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले आयोजना गरिएको यस वृहत् प्रदर्शनलाई असफल बनाउन गरिने यस्ता घुसपैठ तथा षडयन्त्रप्रति सजग रही व्यापक सहभागिता जनाउन आह्वान गरेका छन् ।









