लुम्बिनी सरकारमा संकट : गठबन्धनको बैठक निष्कर्ष विहीन

काठमाडौं । लुम्बिनी प्रदेश सरकार विस्तारका सन्दर्भमा सोमबार आज बसेको बैठक निष्कर्ष विहीन भएको छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन र नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबिच छलफल भएको थियो । तर उक्त छलफलले अन्तिमरुप भने पाएन ।
दाङको चोखेरामा भएको छलफलमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सभामुख ओनसरी घर्ती र माओवादी संसदीय दलका नेता जोखबहादुर महराको पनि सहभागिता रहेको थियो ।
बैठकमा सरकार विस्तार गर्दा मन्त्रालय थप्ने या नथप्ने विषयमा सामान्य छलफल भएको जनाइएको छ ।
उक्त छलफलमा माओवादी केन्द्रका तर्फबाट दीपेन्द्र पुनलाई मन्त्री बनाउने भनिए पनि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नमानेपछि सहमति जुट्न नसकेको स्रोतले बतायो ।
बैठकमा संसदीय समितिका सभापतिको विषयमा समेत सामान्य छलफल भएको नेताहरूले बताएका छन् ।
यसअघि एमालेका लिला गिरीको नेतृत्वमा रहेको सरकार ढलेपछि गत वैशाख १४ गते लुम्बिनीमा रहेका १० दलमध्ये आठ वटा दलको गठबन्धनमा चौधरी नेतृत्वको सरकार गठन भएको थियो ।
सरकार गठन गर्दा हाल सरकारमा रहेका ६ वटा दललाई मन्त्रीको भागबण्डा गरिएकोमा एक एक जनामात्रै सांसद रहेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई विषयगत समितिमा जिम्मेवारी दिने सहमति भएको थियो ।
तर, सरकार गठन भएको सात महिना पूरा हुनै लाग्दा समेत न त सरकारले पूर्णता पाउन सकेको छ, न त विषयगत समिति नै गठन भएका छन् ।








