राष्ट्रपति पौडेलद्वारा छठ अवलोकन र दर्शन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटको अवलोकन गरि दर्शन गरेका छन् ।

यसका साथै छठका लागि सिँगारिएको काठमाडौँको कमलपोखरी क्षेत्रमा दर्शन तथा अवलोकनका लागि सहभागी हुने राष्ट्रपति पौडेलको कार्यतालिका रहेको छ ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको थियो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ ।

यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।

बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।

तस्बिरहरू  :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =