केबुलकारलाई यातायातका रुपमा प्रयोग गर्नुपर्छ : कुलमान घिसिङ (भिडिओ)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।
लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए ।
उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । उनले केबुलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए । उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताए ।
उनले भने ‘धेरै केबुलकारहरूले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ । यस्तै केबुलकारहरूले हाम्रो विद्युतको खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरू बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ । केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा केबुलकारको महत्वपूर्ण भूमिका हुनेछ । नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठूला ठूला ट्रान्सपोटेशन केबुलकारबाट गर्दा राम्रो हुन्छ । यसले विद्युत खपतका साथै इकोनोमीमा राम्रो गर्छ । लुम्बिनी केबल कार महत्वपूर्ण छ ।’
त्यस्तै लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले दसैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । उनले आफूहरूले अपेक्षा गरेअनुसारै पर्यटकहरू आएकोमा खुसी व्यक्त गरे ।
उनले भने ‘यात्रुहरूको भीड छ । दसैँ तिहारको अफर र छुट्टीको समयमा अपेक्षा गरेअनुसार नै यात्रुहरू आउनुभएको छ ।’
उनले लुम्बिनी केबुलकारको टिकट महँगो नभएको बताए ।








