बानेश्वरमा माओवादी नेतालाई खुकुरी हानेर झापा हुँदै इलाम पुगेका थिए अभियुक्त

काठमाडौं । माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

२२ कात्तिकमा बानेश्वरमा बर्तौलामाथि खुकुरी प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो ।

पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान छन् ।

माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो ।

प्रहरीका अनुसार आक्रमणमा संलग्नहरूले बर्तौलामाथि साङ्घातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । घटना भएको दिन शेरबहादुरले पछाडिबाट खुकुरी हानेका थिए ।

बर्तौलामाथि आक्रमण गरेपछि उनीहरू एउटा घरमा पुगेर कपडा फेरेर नयाँ बसपार्क पुगेका थिए, जहाँबाट झापा हुँदै हुँदै इलाम पुग्ने व्यवस्था टेकबहादुरले मिलाए ।

प्रहरीले घटनाको योजनाकार भने खुलाएको छैन । तर आक्रमणको योजना काठमाडौँको एक होटेलमा बनाएको र यसबारे तीन जना नै जानकार रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका तीनै जना यसअघि पनि चोरी, डाँका, हातहतियार र ज्यानसम्बन्धी उद्योग जस्ता मुद्दामा सजाय काटेका व्यक्ति हुन् ।

प्रहरीका अनुसार जिल्ला अदालत, काठमाडौँले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =