टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् ।
टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले निर्णय बदरको आदेश मागेका छन् ।
रिट निवेदन दिनेमा अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् ।
उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् ।
टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।
नागरिकका लागि अपूरणीय क्षति हुने भन्दै उनीहरुले आफूहरुको निवेदनमा अन्तरिम आदेश जारी हुनुपर्ने माग समेत गरेका छन् ।
सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनहरु अहिले अध्ययनका क्रममा छन् ।
२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।








