सवारी दुर्घटनामा परी एकैदिन १२ जनाको मृत्यु

कठमाडौ । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालमा सु.प.प्र. ०१ ००१ ह ५५४५ नम्बरको अटोको ब्रेक फेल भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा कमलबजार नगरपालिका–४ बस्ने २४ वर्षीय दिपक बोहरा र सोही नगरपालिका–२ बस्ने २६ वर्षीय जनक खड्का रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाम लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै प्युठानको ऐरावती गाउँपालिका–२ ददेरीपाटामा रा.३ प ८४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा चालक ऐरावती गाउँपालिका–५ झिवाङ बस्ने ६० वर्षीय हरिलाल थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
एता बर्दियाको गुलरिया नगरपालिका–५ गुलरियास्थित भित्री सडक सडकमा भे.१ ख २४११ नम्बरको मिनीट्रकमा भे.११ प २६४७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका–२ बस्ने ७३ वर्षीय कृष्ण प्रसाद अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिनीट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५ कामी टोलमा बा.२ ख ८२१३ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक काभ्रे पनौती बस्ने ३५ वर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै झापाको कमल गाउँपालिका–३ सहिद गेटस्थित सडकमा भएको सवारी दुर्घटनामा परी को.२१ प ७७ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–४ बस्ने ३१ वर्षीय मदन बहादुर लाय मगरको बुधबार दिउँसो मृत्यु भएको छ ।
उक्त मोटरसाइकल भैसीसँग ठक्कर खाई लडेको अवस्थामा अल्फाबेट नखुलेको १८४५ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि बीएण्डी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल मोटरसाइकलसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिरहाको सिरहा नगरपालिका–१ स्थित सिरहा–माडर सडक खण्डमा ज.१ च १०७१ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सिरहा नगरपालिका–२ हटिया टोल बस्ने ३६ वर्षीया जिबछी देवी यादवको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । जिप चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–६ मालपोत चौकमा को.२ ह ५५६५ नम्बरको अटो बुधबार साँझ दुर्घटना हुँदा मोरङ केराबारी गाउँपालिका–५ बस्ने ३४ वर्षीय पदम बहादुर लिम्वुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चौकमा ना.६ ख ९११७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ८० वर्षीय मान बहादुर राईको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–६ सुक्चरमा को.९ प ७८२८ नम्बर र को.२९ प ६१५९ नम्बरका दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा को.९ प ७८२८ नम्बरको मोटरसाइकल चालक बिराटनगर महानगरपालिका–५ बस्ने २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकलमा सवार अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरीको राजबिराज नगरपालिका–१० कदमाहामा प्र.२–०३–०१६ प ३९९० नम्बरको मोटरसाइकललाई प्र.२–०१–००३ प ३०७९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा प्र.२–०३–०१६ प ३९९० नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–१० बस्ने ३० वर्षीया अमृता देवी यादवको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ठक्कर खाने मोटरसाइकलका चालकको गजेन्द्र नारायण सिंह अस्पतालमा राजबिराज सप्तरीमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कञ्चन गाउँपालिका–४ भुपुसैनिक चोकमा लु.४३ प ३३१३ नम्बरको स्टकुरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–४ शिवालय चोक बस्ने ६२ वर्षीय होम बहादुर खत्रीको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








