आइसिसी विश्वकप २०२३ : न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा

काठमाडौँ । भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

मोहम्मद शामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

जितको लागि ३ सय ९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो ।

न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन वनाएपनी टोलीलाई जिताउन भने सकेनन् ।

केन विलियम्सन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा क्याच आउट भए । केन र मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए ।

भारतका मोहम्मद शामीले न्युजिल्यान्डका दुबै ओपनरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दुबै ओपनर रचिन रबिन्द्र र डेभन कन्वे एज लागेर विकेटकिपर लोकेश राहुलबाट समान १३ रनमा क्याच आउट भएका थिए ।

ग्लेन फिलिप्स ३३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो गर्न सकेनन् ।

शामीको ३३ औं ओभरको दोस्रो बलमा विलियम्सन सुर्यकुमार यादव बाट क्याच भएका थिए ।

भारतका शामीले ९.५ ओभरमा ५७ रन खर्चेर ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनाएको थियो ।

भारतका श्रेयस ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेलेका थिए ।

त्यस्तै, विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए ।

विराटको यो ओडिआइ करिअरको ५० औं शतक हो । भने, उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् ।

विराटले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका छन् ।

भारतका कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात गरेका थिए ।

टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए ।

पहिलो विकेटका लगि रोहित र गिलले ९.२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि गिल र कोहलीले ९३ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, कोहली र ऎरले १ सय २८ बलमा १ सय ६३ रनको शतकिय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

साथै, शुभमन गिल ६६ बलमा ८ चौका र ३ छक्कासहित ८० रनमा नट आउट रहे । गिल ७९ रनमा रिटायर्ड हर्ट भएका थिए। लोकेश राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नट आउट रहे ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । टिम साउथीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए ।

दोस्रो सेमिफाइनल भने बिहिबार हुनेछ । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दछिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *