इतिहासको सम्मान गर्न नसक्ने राष्ट्रको भविष्य उज्यालो हुन सक्दैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् । उनले मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले इतिहासलाई जोगाउन अति आवश्यक भइसकेको बताए । ‘यहाँ एपका माध्यमबाट समय सापेक्ष रुपमा हरेक कुराको जानकारी दिने शुरुवात गर्नुभएको छ । यो अत्यन्त समयसापेक्ष छ । ठाउँका नामहरु मौलिक रुपमा राख्ने जुन एउटा शुरुवात गर्नुभएको छ, उनले अगाडि भने, ‘आजभोलि के भएको छ भने जसलाई देख्यो उसैका नाममा चोक, उसैका नाममा बाटो, गल्ली भएका कारणले हाम्रो ऐतिहासिक धरोहर, मूल्यमान्यता शक्तिशाली मानिसको हातमा परेको छ । इतिहासलाई जोगाउन पर्छ । इतिहास जस्तो भएपनि आफ्नै मूल्य हुन्छ, इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र, समाजको भविष्य उज्यालो हुन सक्दैन ।’
सभापति लामिछानेले देशमा लघुवित्त, सहकारीका कारण ऋणको पासोमा पुगेका नागरिकलाई ऋणमुक्त गरेर जान सहकारी, बैंक र लघुवित्तको ब्याजदर व्यवस्थित गरेर जानसके राष्ट्रिय विभूति शंखधर शाख्वाप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।








