सरकारले भूकम्प पीडितलाई युद्धस्तरमा सेवा दिन सक्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्प पीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।

जाडोले कठ्यांग्रिएर भूकम्प पीडितहरु मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्माननित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी उनीहरुको सेवामा सरकार युद्धस्तरमा लाग्नुपर्ने बताए ।

सोमबार काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसीभैलो कार्यक्रममा बोल्दै उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

उनले भने– ‘कर्णालीका आम जनता वास्तवमा शोक मनाईरहेको अवस्थामा छन् । खासगरी जाजरकोट र रुकुमका जनतामा यस पटक गएको भूकम्पले जुन प्रकारको एउटा आतंक सृजना गरेको छ । त्यो आतंक अझै गईसकेको छैन । त्यो ठूलो भूकम्पले धेरै जनधनको क्षति गरेको छ । हाम्रो धेरै दाजुभाई दिदीबहिनीहरुको निधन भएको छ । म उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । र, सबै घाईतेहरु, भूकम्पबाट पीडितहरुप्रति म समेवदना व्यक्त गर्न चाहन्छु । र, त्यहाँका भूकम्प पीडित जनतालाई उद्धार गर्नका लागि, सेवा गर्नका लागि सरकारले एकद्धार नीति बनाएको छ । यद्यपि देशका विभिन्न संघ, संस्थाहरुले, पार्टीहरुले त्यो ठाउँमा सहयोग पु¥याउनका लागि उद्धारका कार्यहरु गर्नुभएको छ । सहयोग उपलब्ध गराउनु भएको छ । तर ती सबै कुराहरुलाई सरकारले एकद्वार नीति अन्तर्गत सेवा पु¥याउने भनेर सरकारले एक ढंगले गरिरहेको छ । तर, सेवा पुगिरहेको छ कि छैन त ? अहिले पनि । र, म आजै मात्र पनि सञ्चार माध्यमहरुबाट सुनिरहेको छु–त्यहाँका कतिपय जनताले अहिले पनि आवश्यक राहत, उद्धार पाउन सकिरहेका छैनन् । र, जाडोले कतिपय मानिसहरुको मृत्यु भएको कुरा पनि आएको छ । के यो साँचो हो ? यदि साँचो हो भने यो बडो दुर्भाग्यपूर्ण समाचार हो । र, अत्यन्तै गम्भिर समाचार पनि हो । यो कुरालाई सरकारले अत्यन्त गम्भिरतापूर्वक लिन जरुरी छ । अहिलेसम्म पनि, यत्रो दिन पार हुँदा पनि सरकारले त्यहाँका पीडितहरुलाई आवश्यक सुविधाहरु दिन सक्दैन । र, कम्मल मात्र पनि दिन सक्दैन मान्छे जाडोले कठयांग्रिएर मर्नुपर्ने स्थिति बन्यो भने यहाँ भन्दा ठूलो दुर्भाग्य अरु के हुनसक्छ ? त्यसो हुनाले सरकारलाई अविलम्व यस्ता कुराहरुमा युद्धस्तरमा हामीले भन्दै आएका छौं । त्यो भन्दा पनि उन्नतस्तरबाट जनताको सेवा गर्ने काममा सरकार लाग्न सक्नुप¥यो । हामी यो कुरा माग गर्न चाहन्छौं ।’

सम्मानित नेता खनालले तिहारलाई दिदीबहिनी र दाजुभाईबीचको सम्बन्धलाई आत्मीय बनाउने रमाइलो चाडको रुपमा पनि चित्रण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *