तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री,मखमली,गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ । केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरुको प्रयोग गर्ने प्रचलन बढेको छ ।
तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउनको लागि झिलिमिली बत्तीको प्रयोग गर्ने गर्दछन् । विगतमा नेपालीहरुको माटोको दियो बालेर तिहारमा झिलिमिली बनाउने गर्दथे भने देशमा पर्याप्त विद्युत उपलब्ध भएसँगै विद्युतीय बत्तीहरुको प्रयोग गरिन थालेको छ । हरेक वर्ष विद्युतीय व्यवसायीहरुले बजारको मागअनुसार झिलिमिली बत्तीहरु आयात गर्ने गरेका छन् ।
तिहारमा हरेक वर्ष झिलिमिली माला लगायतका बत्तीहरुको माग बढेसँगै आयातमा पनि वृद्धि हुँदै आएको छ । तिहारमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् ।
तिहारको लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्ती लगायत झिलिमिली बत्तीहरु आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए ।
अध्यक्ष देवकोटाले यस वर्षको तिहारका लागि करिव ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको उल्लेख गरे ।
उनले विशेषगरी तिहारमा लक्ष्मीपूजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने बताए ।
उनले आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको बताए ।
उनले बजारको माग भन्दा बढी झिलिमिली बत्ती आयात भएको भन्दै बजारमा झिलिमिली बत्तीको माग गत वर्षको तुलनामा कमी रहेको बताए ।
उनले भने,‘तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी माला बत्तीहरु मागसँगै व्यापार बढेको छ । त्यहीअनुरुप सप्लाई पनि भएको छ । विगत भन्दा माला बत्तीहरुको आयात पनि बढेर आएको छ । तर जुन अनुपातमा बत्तीहरुको आयात बढे पनि व्यापार भने बढ्न सकेको छैन । आर्थिक संकुचनको कारण घर निर्माणसँग सम्बन्धित व्यवसाय भएकाले घर निर्माण नभएकाले व्यापारमा कमी आएको छ । गत वर्षको तिहारमा ३६ करोड बराबरको तिहारको लागि झिलिमिली बत्तीहरुको आयात गरेका थियौं । त्यहीअनुसार बजारमा गएको थियो । गत वर्षको भन्दा आयात बढेर ४५ करोड बराबरको सामान आयात भएको छ । तर माग भने कम भएको छ । नयाँ घरको निर्माण भएको भए नयाँ घरहरुमा उत्सवको रुपमा माला बत्तीहरु लगाउने प्रचलन बढ्ने थियो । केही वर्ष लोडसेडिङको मारमा भएको बेला विद्युत व्यवसायीहरुले क्याडिल बालेर व्यापार गर्नुपर्ने अवस्था थियो । तर अहिले विद्युत सप्लाई राम्रो भएको छ । विद्युत राम्रो सप्लाई भएकाले तिहार लगायत चाडपर्वहरुमा माला बत्तीहरुको माग बढ्दै आएको हो । बजारमा नयाँ डिजाइनको बत्तीहरुमा ग्राहकहरु आकर्षण भएको देखिन्छ । तिहारको लागि ९० प्रतिशत विद्युतीय झिलिमिली बत्तीहरु चीनबाट आउने गरेका छन् । केही सामानहरु भारतबाट पनि आयात गरिन्छ । चीनमा माला बत्तीमा ६५ सेन्ट हालेर खरिद गर्दा सरकारले एक डलरको हो भनेर भन्सारमा मूल्याङक्न गरेको कारण व्यवसायीहरुलाई समस्या भएको र मूल्य वृद्धि भएर आउँदा उपभोक्तालाई पनि मूल्यमा असर परेको अवस्था छ । सरकारले व्यवसायीहरुले जुन मूल्यमा खरिद गरेर ल्याएको छ त्यही मूल्यमा भन्सार मूल्याङ्कन गर्ने व्यवस्था गर्नुपर्छ ।’
उनले एउटै झिलिमिली बत्तीमा ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको बताए ।
उनले भन्सारमा चीनबाट आयात भएका बत्तीहरुको सरकारले मूल्याङ्कन डलरमा गर्दा व्यवसायी र उपभोक्ता मर्कामा परेको बताए ।
उनले झिलिमिलि बत्ती विशेषगरी चीन र भारतबाट आयात हुने गरेको बताए । उनले ९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको बताए ।








