झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नु आवश्यक छ : मन्त्री गुरूङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छन् ।
शुक्रवार नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भएको उपलक्ष्यमा गरिएको तस्बिर प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री गुरूङले झोलुङ्गे पुलहरुलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी हुन् ।
उनले विगतमा झोलुङ्गे पुलहरु केवल एक गाउँबाट अर्को गाउँ जानको निम्ति र खोला वारपार गर्ने प्रयोजनको निम्ति बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताइन् ।
उनले झोलुङ्गे पुललाई खोलानालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरुमा पनि निर्माण गर्नुपर्ने बताइन् ।
एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन् । यसको निम्ति मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको पनि उनले स्पष्ट पारिन् ।
उनले भनिन्– ‘हामीले बनाएका झोलुङ्गे पुलहरुले हिजो एउटा गाउँबाट अर्को गाउँ जानको निम्ति भनेर बनाइएको थियो होला । अर्थात् सहज हिसाबले खोला वारी र पारी गर्नुपर्छ भन्ने हिसाबले गरिएको थियो भने अब भनेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारको विकासलाई कसरी आर्थिक रुपमा जोडेर लिएर जान सकिन्छ ? भनेर सोच्नुपर्ने बेला आएको छ । त्यो हिसाबले अहिले हेर्ने हो भने स्थानीय पूर्वाधार विभाग अन्तर्गत बनेको झोलुङ्गे पुलहरुको प्रकृतिलाई हेर्ने हो भने कतिपय स्थानीय समस्यालाई मात्रै सम्बोधन गर्ने खालको छ भने कतिपय झोलुङ्गे पुलहरु राष्ट्रलाई नै फरक ढंगले चिनाउने गरी पर्यटन पूर्वाधारको विकास, आर्थिक विकासमा ठुलो टेवा पुग्ने कामहरु पनि भएको छ । यि अनुभवहरुलाई परिष्कृत गर्दै अब हामीसँग रहेको खोलानाला, नदिमा केन्द्रीत नभइकन आर्थिक सम्भावना बोकेको, पर्यटनको सम्भावना बोकेको ठाउँहरुलाई, क्षेत्रहरुलाई केन्द्रित गरेर झोलुङ्गे पुलमार्फत् हामीले नेपालको पूर्वाधार विकासलाई जोड्नु आवश्यक छ । त्यही अनुसार हामी सहरी विकास मन्त्रालय झोलुङ्गे पुलको यो उपलब्धिलाई अझ परिष्कृत गरेर लिएर जानको निम्ति आगामी दिनहरुमा खोला, नदी, खोल्साहरुमा मात्रै होइन त्यस्तो सम्भावना बोकेको पहाडदेखि पहाडसम्म जोडेर जानेगरी पुलहरु बनाउनुपर्छ भनेर हामीले नीतिगत रुपमा निर्णय गरिसकेका छौँ । पक्कैपनि यसले हिजोको भन्दा पृथक ढंगले सेवा सुविधा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
उनले झोलुङ्गे पुललाई नागरिकको जनताको आय–आर्जनसँग जोड्नुपर्ने पनि बताइन् ।
उनले भुगोल अनुसार कहाँ के को व्यवसायिक खेती गर्न सकिन्छ भनेर सूचिकृत गर्न सकेमा सो क्षेत्रको आर्थिक समृद्धिमा सघाउ पुग्ने पनि बताइन् ।








