कोप–२८ मा अन्तर्राष्ट्रिय जगतले के सोचेको छ, के भन्ने लाइनमा छ, होइन- हाम्रा कुरा राख्ने हो : वन तथा वातावरणमन्त्री

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले दुबईमा हुने जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा नेपालका जलवायु परिवर्तनबाट प्रभावितहरूले सहभागिता जनाउनसक्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जलवायु परिवर्तनबाट प्रभावित भएका स्थानीयहरूलाई सम्मेलनमा सहभागी हुन इच्छुक भए आफ्नो नाम दर्ता गराउन हरेक प्रदेशमा चिठी पठाइसकेको बताए । उनले कोप–२८ मा नेपालले आफूलाई परेका समस्या प्रमाणित गरेर देखाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले कोपमा मात्रै गुहारेर नेपालमा जलवायु परिवर्तनबाट परेका असरहरूको समाधान नहुने भन्दै आन्तरिक रुपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि गरेका पहलकदमी र तयारीका बारेमा पनि विशेष जोड दिनुपर्ने बताए ।
उनले कोप २८ मा नेपालको तर्फबाट प्रधानमन्त्रीले सहभागिता जनाउने उल्लेख गर्दै नेपालले सम्मेलनमा आफ्ना समस्याहरू स्पष्ट रुपमा राख्न सक्नुपर्ने बताए ।
उनले भने ‘जलवायु परिवर्तनको असर नेपाललाई मात्रै नभएर विश्वभर नै परेको छ । विशेष गरेर हामी जस्ता देशहरू यसको भिक्टिम भइरहेका छौँ । यही विगत केही दिनमा हामीले धेरै किसिमका भूकम्प भनौँ, विपद्को सामना गरिरहेका छौँ । यस्ता घटनाहरू नेपालमा छिटो छिटो दोहोरिइरहेको छ । हामी कोपको कुरा गरिरहेका छौँ । यसमा हामी धेरै गम्भीर भएका छौँ । हाम्रा आवाज उठाउनुपर्ने छ । तर हामीले जलवायु परिवर्तनले हामी जस्तो देशलाई जुन किसिमले असर गरिरहेको छ, त्यसमा हामी बलियो हिसाबबाट तयारी हुने अवस्थामा हामी पुग्नुपर्छ । कोपमा मात्रै गुहार गरेर हाम्रो समस्या समाधान हुनेवाला छैन । हामी इन्टरनल्ली कति तयारी गरेका छौैँ, यसको न्यूनीकरणमा हामी कति लागेका छौँ, त्यसमा हामी सचेत रहनुपर्छ, त्यो नसेके यो भन्दा पनि बढी क्षति हुनेछ । ५ गते के लिएर जाने भन्ने सन्देश हुनेछ । त्यहाँ गइसकेपछि हाम्रो उद्देश्य भिजन र डकुमेण्डहरु राख्नेछौँ । त्यसमा क्लियर रुपमा राख्न नसके फेरि जाने र फर्किएर आउने मात्रै हुनेछ । प्रभावित स्थानीयहरूको सहभागिता हुनपर्छ भन्ने कुरा थियो । र हामीले प्रत्येक प्रदेशमा लिखित रुपमा चिठी पठाएका छौँ । तपाईँहरूको सल्लाह सुझाव कोपमा दिन र जान चाहनेले रजिस्ट्रेसन गराउनु भनिसकेका छौँ ।’
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा।दीपककुमार खरालले कोप सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय जगतलाई सजिलो हुने किसिमले भन्दा पनि नेपाललाई परेका समस्या केन्द्रित आवाज उठाउने बताए ।
सम्मेलनमा नेपाललाई परेका समस्या समाधानका लागि आवश्यक मुद्दाहरूमा केन्द्रित भएर सरकारले आफ्ना एजेण्डा प्रस्तुत गर्ने बताए ।
उनले भने ‘हामीले कोपमा व्यक्त गर्नेकुरा अरुको लाइनमा जाने र अरुलाई सजिलो के हुने वा अन्तर्राष्ट्रिय जगातले के सोचेको छ र कसरी सोचेको छ भन्ने लाइनमा होइन । हामीलाई परेका समस्या र परेका समस्या समाधानका लागि हाम्रो आवाज के हो ? त्यो कुनैपनि नहिच्किचाइ राख्नुपर्छ । त्यो लाइनमा हामी जानेछौँ । क्लाइमेट फाइनान्सको बहसमा हाम्रो मेकानिजमले एड्जस्ट गर्नसक्ने र संयन्त्र प्रभावकारी हुने किसिमले लबिङ गर्नुपर्नेछ ।’
सचिव खरालले क्लाइमेट फाइनान्सको बहसमा नेपालले आफ्नो मेकानिजमले एड्जस्ट गर्नसक्ने र संयन्त्र प्रभावकारी हुने किसिमले लबिङ गर्न आवश्यक रहेको बताए ।








