रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जलेश्वरमा बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक राख्ने भएको छ ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए ।
रास्वपाले यसअघि पनि कात्तिक २२ र २३ गते मधेस प्रदेशमै संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकको तयारी गरेको थियो । तर, गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्र गरी भूकम्प गएपछि स्थगित गरेको थियो ।
मधेस प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि पार्टीले विमर्शको तयारी गरेको छ ।
दस्तावेजलाई पूर्णता दिने तयारीमा रहेको रास्वपाले यसअघि जन आवाज सुन्न भन्दै पार्टी केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँगाउँ खटाएको थियो । लगत्तै उसले प्रबुद्ध व्यक्तित्वहरूसँग नीति मन्थन पनि गरेको थियो ।








