एन्फा अध्यक्ष नेम्बाङको पद जोगियो, अविश्वासको प्रस्ताव असफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङविरूद्धको अविश्वासको प्रस्ताव असफल भएको छ ।
अविश्वासको प्रस्ताव गर्ने पक्षले नै भोटिङ बहिष्कार गर्दा नेम्बाङविरुद्धको प्रस्ताव असफल भएको हो ।
आज हेटौडामा भएको एन्फाको विशेष सधारणसभामा नेम्बाङविरूद्धको अविश्वासको प्रस्तावमा मतदान भएको थियो । जसमा एन्फाका ८७ मताधिकार पाएका मध्ये ५३ मात्र भोट खसेको थियो । जसमा नेम्बाङको पक्षमा ५२ भोट खसेको थियो । १ भोट बदर भएको थियो ।
मतदानअघि दुई पक्षबीच तनाव उत्पन्न भएको थियो । अध्यक्ष पंकजबिक्रम नेम्बाङले बोलेपछि पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बोल्न खोजेका थिए । तर त्यसपछि होहाल्ला हुँदा उद्घाटन नै नभइ मतदान सुरु भएको थियो ।
आफूहरुलाई बोल्न नदिएको र विधान मिचेको आरोप लगाउँदै शेर्पा पक्षले मतदान बहिष्कार गरेका थिए । ३४ मताधिकार व्यक्ति साधारणसभाका लागि उपस्थित भए पनि भोटिङमा अनुपस्थित भएका थिए ।
बिहीबार हेटौंडामा भएको साधारणसभामा एन्फाका ८७ सदस्यलाई मताधिकार थियो ।
मताधिकार पाएका दुई तिहाइले मात्र अध्यक्षसहित अरु सदस्यलाई बर्खास्त गर्न सक्ने विधानमा उल्लेख छ ।








