भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले जाजरकोट केन्द्र भाग भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मंसीर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी हजारौँ अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

उनीहरूले करोडौँ मूल्य बराबरको श्रमदान गर्नेगरी सो कामको संयोजन भने जिम्मेवारी भने पार्टीको कर्णाली प्रदेश कमिटीलाई दिने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली जानकारी दिए ।

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिकरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको उपमहासचिव ज्ञवालीले बताए ।

उनले भने ‘आजको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको १७ गतेको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । ज्यान गुमाउने १५३ जनाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ । ३६४ जना जो घाइते हुनुभएको छ । उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । र, झन्डै ३४ हजार घरहरू आंशिक र पूर्ण रुपमा जुन क्षति भएका छन् । यसप्रति हामी अत्यन्तै संवेदनशील छौं । यो भूकम्पमा घरबार गुमाएकाहरूको अस्थायी आवास निर्माणका लागि हामीले तपाईँहरूलाई सम्झनै छ । २०७२ मा विनाशकारी भूकम्पपछि ५० हजार स्वमयसेवकहरु परिचालन गरेका थियौँ । र, ३ महिनाको बीचमा हामीले २७ हजार घर, टहराहरू बनाएर हस्तान्तरण गरेका थियौँ । यही लेबलमा एक हजार स्वयंसेवकहरू मंसिर १ गतेदेखि त्यहाँ खटिनु हुनेछ । हामीले पाँच हजार कार्यदिन भन्दा बढी त्यहाँ खटने छौं । एक करोड भन्दा बढी मूल्यको चाहिँ हामीले श्रम गर्नेछौँ । र, हजारौँ टहराहरू बनाएर नागरिकहरूलाई अस्थायी तर न्यानो घरमा चाहिँ बसाएर हामी फर्कनेछौँ । मंसीर १ गतेदेखि त्यो अभियान चलाउँछौँ । यो कामको संयोजन चाहिँ पार्टीको कर्णाली प्रदेश कमिटीले गर्नेछ । र, हामीले सरकारसँग माग गरेका छौं । यो राहत संकलन भएर पनि प्रभावकारी ढंगले वितरण नभइरहेको, राहत एक ठाउँमा डम्प भएको, तर पीडितहरूले नपाएको, उनीहरू चिसोमा भोक भोकै सुत्न बाध्य भएको, कतिपय ठाउँमा त्यसका पनि राजनीतिकरण भएको र पछिल्लो समय त एक खालको विपद् पर्यटन जस्तो, विपद् हेर्न जाने र सेल्फी खिच्ने जस्तो कतिपय कुराहरू भएका छन् । यसमा गम्भीर हुन र पारदर्शी, निष्पक्ष र प्रभावकारी ढंगले राहत वितरणका लागि सरकारलाई ध्यानाकर्षण पनि गराएका छौं ।’

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई सेल्फी खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =