चिकित्सक कुटिएपछि पाटन अस्पतालमा सेवा ठप्प

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको बिरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै बिरोध प्रदर्शनमा उत्रिएपछि सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।
प्रचलित कानून बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चिकित्सक डा. दिक्षान्त आचार्यले चेतावनी दिए ।
उनले चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही गर्ने काम नगरेको भन्दै सरकार र प्रहरी प्रशासनप्रति पनि आक्रोश व्यक्त गरे ।
डा. आचार्यले भने– ‘२०८० साल कार्तिक १८ गते शनिवारको दिन चाहीँ पाटन अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जना बिरामीहरुको मृत्यु पश्चात त्यसको आफ्नो कर्तव्य पूरा गर्दागर्दै क्रममा त्यहाँ ड्युटीमा खटिएका डाक्टर सावहरु हुनुहुन्थ्यो । र, नर्सहरु हुनुहुन्थ्यो । उहाँहरुलाई त्यो बेलामा कुटपिट तथा गालीगलौज, ज्यानको धम्की र एक छिन समयसम्म त्यहाँ बन्धक बनाएर जुन राखिएका थियो । त्यसको बिरोधमा प्रहरी प्रशासनदेखि लिएर नेपाल सरकार भनौन हाम्रो प्रचलित जुन ऐन छ । त्यस अनुसार किन कारबाही भएन, किन कारबाहीको कार्यक्रम अगाडि बढिरहेको छैन ? भन्ने कुरामा चाहीँ हामी आन्दोलित भएर यसमा बसिराखेका छौं । यो कस्तो कुरा हो भने यदी बाटोमा कसैलाई कुट्छ भने त्यो मान्छेलाई कारबाही हुनुपर्यो । र, उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिनुपर्यो । मेरो बुझाई चाहीँ त्यस्तो हुुनुपर्ने हो । तर त्यो दिन डाक्टरहरु जो ड्युटीमा हुनुहुन्थ्यो । उहाँहरुले बिरामी हेर्नुपर्नै हुन्छ । नयाँ आउने बिरामीलाई पनि सेवा प्रदान गर्नुपर्ने हुन्छ । उहाँहरुलाई कुटपिट बनाएर बन्धक बनाएर राखेपछि त्यो कुटपिट गर्ने पिडक पक्षहरु जो छन् । उनीहरुलाई किन अहिलेसम्म कारबाही भईराखेको छैन, किन समातिएन ? त्यही बेला किन समातिएन ? यो कुरा चाँही हामीलाई पनि प्रश्न हो । र यसमा जोजो सम्बन्धिन निकाय हुनुहुन्छ । उहाँहरुलाई पनि यही प्रश्न हो । यसैकारण हामी आन्दोलित छौं । हामीले गल्ती नगरिकन गल्ती गरेको भन्ने जस्ता शब्दहरु, लापरबाही गरेको भन्ने जस्ता शब्दहरु प्रयोग नगर्नुस् भनेको हो । हाम्रो इच्छा त बिरामीले राम्रो उपचार पाउनु पर्यो । विरामीले राम्रो सेवा पाउनुप¥यो । हाम्रो जो डाक्टर सावहरुलाई कुटियो । जोजो पीडक पक्षहरु हुनुहुन्छ । उहाँलाई प्रहरीले नियन्त्रणमा लिनुपर्यो भन्ने माग छ ।’
सो अस्पतालमा गत कार्तिक १८ गते शनिवार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकहरुको भनाई छ ।
उनीहरुले चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरुलाई सरकारले कारबाही नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने बताएका छन् ।








