एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

काठमाडौँ । सोमवार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरूलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिए ।

त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू र जनप्रतिनिधिहरू एवं राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उनले बताए ।

बैठकले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनः स्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेका छन् ।

सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपार्इं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरू रहेको उनले जानकारी दिए ।

उनले भने ‘हाम्रो पार्टीले भूकम्प प्रभावितहरूको लागि उद्धार र राहतको कार्यमा सहयोग पुयाउनको लागि केन्द्रीय कार्यालयको दुई दिन अगाडीको बैठकले पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई त्यो ठाउँको विशेष जिम्मेवारी दिएर पहिल्यै पठाइएको छ । उहाँ त्यहीँ कार्यक्षेत्रमा हुनुहुन्छ । त्यसैले यो बैठकमा आउन सक्नुभएन । आज पार्टीले पार्टीको कार्यकर्ताहरूबाट आर्थिक सहयोग संकलन गरी सरकारको राहत कोषमा २५ लाख रुपैयाँ पार्टीका तर्फबाट प्रदान गर्ने निर्णय गरेको छ । यसको स्रोत हामीले पार्टी कार्यकर्ताहरूबाट आर्थिक सहयोग संकलन गर्दै त्यहाँ बुझाउने छौँ । यही प्रयोजनका लागि हाम्रो पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू र जनप्रतिनिधिहरू एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्नुहुनेछ भन्ने निर्णय गरेका छौँ । उद्धार, राहत, पुनर्स्थापना आदिको व्यवस्थापन कार्यमा सहयोग, सहकार्य र अनुगमन गर्नका लागि पार्टीले एक कार्यदल गठन गरेको छ । उपमहासचिव प्रकाश ज्वालाले संयोजन गर्नुहुनेछ । सांसद अमरबहादुर थापा, मन्त्री नन्दा चपाई, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टी प्रदेशका सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरूको अनुगमन, राहत तथा उद्धार कार्यका लागि व्यवस्थापन, सहयोग, समन्वय र अनुगमनका लागि यो कार्यदल गठन गरेको छ ।’

त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताए ।

उनले सो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट सुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताए ।

उनले भने ‘समाजवादी जागरण अभियानको समीक्षा गयौँ । हाम्रो पार्टीले छोटो समयको तयारीमा गरिएको यो निकै प्रभावकारी कार्यक्रम भएको । हाम्रो पार्टी समाजवादको प्रारम्भिक अवस्थामा अति महत्वको साथ ध्यान दिनुपर्ने केही महत्वपूर्ण विषयहरु, एजेण्डाको रुपमा जनतामा लान सफल भएको । रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलको तर्फबाट पहिलो पटक लगभग १२ सय किलोमिटर लामो अभियान सञ्चालन गरेको । नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरेको छ । समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट सुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेका छौँ ।’

बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौँमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि (मंगलबार) पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =