भूकम्पका घाइतेको उपचारको लागि ‘भेरी’ डेडिकेटेड अस्पताल

नेपालगञ्ज । शुक्रबार राती जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका घाइते भएकोको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जलाई तयारी अवस्थामा राखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भूकम्पमा परेका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले शनिबार बिहान ३ः२१ बजे बाटै तयारी थालेको जानकारी दिए ।

उनले भेरी अस्पताल नेपालगञ्जलाई भूकम्पका बिरामीको उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको बताए । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि स्वास्थ्यकर्मी नरेश श्रेष्ठलाई फोकलपर्सन तोकिएको उनले बताए ।

प्रजिअ पोखरेलले भेरी अस्पतालमा ८०, सैनिक अस्पताल २० र प्रहरी अस्पतालको ५ बेड गरी १०५ वटा बेड तयारी अवस्थामा राखिएको र बिरामीको चाप र आवश्यकताका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज साथै अन्य निजी अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखिएको जानकारी दिए ।

भूकम्पमा परेर उपचारको लागि नेपालगञ्ज आउने बिरामीका लागि नेपालगञ्ज उपमहानगर पालिकाले निःशुल्क ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

बिरामीको उपचारमा कमी आउन नदिनको लागि पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ औषधि उपकरणको प्रबन्ध मिलाइएको प्रजिअ पोखरेलले बताए ।

हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको र अपुग भएमा फ्रेस रगत आपूर्तिको लागि सशस्त्र प्रहरीको एक टिम तयारी अवस्थामा राखिनुको साथै रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

यसैबीच भेरी अस्पताल नेपालगञ्जमा भूकम्पका घाइतेहरू उपचारको लागि आउने क्रम सुरु भएको छ । जाजरकोट–३ खलंगाका ४८ वर्षीय विमलकुमार कार्कीलाई जाजरकोटबाट एम्बुलेन्समा नेपालगञ्ज उपचारको लागि पुराईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *