नेपाल टि-२० विश्वकपमा छनाेट, युएई ८ विकेटले पराजित (तस्बिरसहित)

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ ।

नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ । २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।

त्यसपछि गुलशन झा र आसिफ शेखले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । बासिल हामिदले गुलशनलाई दशौं ओभरको तेस्रो बलमा २२ रनमा बोल्ड आउट गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । युएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिए ।

युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

खालिद शाह चौथो ओभरको पहिलो बलमा ३ रनमा रन आउट भए । तीव्र गतिका बलर सोमपाल कामीको बलमा ननस्ट्राइकबाट दौडनेक्रममा उनी आउट भएका थिए ।

सोमपालको चौथो ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट भए । वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेलेका थिए ।

सन्दीपले १० औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरे । कुशल मल्लको १४ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भए । शराफुले १४ बल खेल्दा ३ चौका हानेका थिए ।

अली नासिर लङअफमा कप्तान रोहित पौडेलको १६ औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट भए । एलिशान शराफु १६, आसिफ खान १३, अली नासिर ४, बासिल हामिद र आयन खान १–१ रनमा आउट भए ।

नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लि । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए ।

सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

नेपालले अव उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । नेपालले २०१४ पछि टि२० विश्वकपमा पहिलो पटक स्थान बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =