केपी ओली : मैले कम्बोडिया तीन हजार करोड ट्रकमा पठाएँ की जेटमा ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताएका छन् । बिहीबार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो आलोचना अहिलेसम्म भएको नसुनेको भन्दै आलोचना गर्ने ठाउँ नपाएपछि विरोध गरिहरेको बताए । उनले नेपालको भूमि समेटेर नक्सा जारी गरिसकेपछि केही विदेशी सञ्चारमाध्यमहरूले आवेगमा कम्बोडियामा ३ हजार करोड लगानी रहेको भ्रमपूर्ण समाचार प्रकाशित गरेको कुरालाई अहिले प्रचार गरिएको बताए । उक्त सञ्चारमाध्यमहरूले गल्ती भएको स्वीकार गरिसकेको कुरालाई अहिले विरोधका लागि प्रचार गरिएको उनको तर्क छ ।
अध्यक्ष ओलीले कुनैपनि कम्पनीमा तीन हजार करोड लगानी गर्दा गोप्य नरहने भन्दै सो लगानी गरेको पत्ता लगाउनेलाई उक्त रकमसहित एक हजार बक्सिस दिने बताए । उनले आफूले देश र जनताकाप्रति निष्ठाका साथ गरेको कामलाई जीवनभर गरिरहने बताए ।
उनले भने, ‘मेरो अहिलेसम्म आलोचना भएको मैले सुनेको छैन । विरोध मैले सुनेको छु । आलोचना गर्ने ठाउँ नपाएपछि मानिसले विरोध गर्छ । यो कुरा गलत बोल्यो भन्ने, विचार यो, व्यवहार यो गलत गरेको छ भन्ने ठाउँ छैन । त्यो नभएपछि झुटा आरोप लगाउँछ । आरोप भनेको आलोचना होइन । आलोचना भनेको यो गलत भयो, यहाँ गल्ती भयो भन्ने हो । यो अहिलेदेखि होइन, पहिल्यैबाट हो । पशुलाई नथुन्ने गरी मलाई थुनियो । अहिलेसम्म पनि झुट बोलिरहेका छन् । मैले नेपालको भूमि समेटेर नक्सा छापेपछि केही विदेशी मिडियाहरूले अत्यन्त उत्तेजित भए, मेरा विरुद्ध लेखे, जथाभाबी लेखे, कुनै मर्यादाको सीमा रहेन । त्यो आलोचना होइन, विरोध हो । पछि यो गल्ती भयो भने । अहिले फेरि त्यही कुरा ४ वर्षअघि गल्ती भयो, आवेशमा बोलियो भनेर स्वीकारीसके । अहिले त्यही कुरा एकथरीले लिएर हिँडेका छन्, कम्बोडियामा लगानी भनेर । मलाई थाहा छैन, ट्रकमा पठाएँ की जेटमा पठाएँ की । त्यो तीन हजार करोड पत्ता लगाऊ, तिमीलाई नै दिउँला र बक्सिस स्वरूप १ हजार दिन्छु भनेको थिएँ । त्यत्रो लगानी छ भने गोप्य रहँदैन होला । मैले देश र जनताकाप्रति जुन निष्ठाका साथ काम गरेको छु, त्यो जिन्दगीभर छोड्दिन ।’
अध्यक्ष ओलीले अहिले पनि आफूलाई स्वास्थ्य कस्तो छ ? भनेर जिस्क्याउने गरेको आशय व्यक्त गरेका छन् । ‘अलि पछाडि अब क्यान्सरको पनि भ्याक्सिन नै निस्किन्छ । जन्मने बित्तिकै लगाइदियो त्यसपछि केही पनि छैन, त्यसकारण हामी आशावादी हुनुपर्छ । त्यही भएर मैले कस्तो छ स्वास्थ्य, कस्तो छ आजकाल तपाईलाई भनेर सोधिरहन्छन्, त्यसैले अझै २० वर्ष राजनीति गर्छु भनिदिएको,’ उनले भने ।








