राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठक समापन गर्नुअघि बोल्दै सभामुख घिमिरेले संसदलाई लोकतन्त्रलाई थप योगदान दिन सक्नेगरी अभ्यास गराउनुपर्ने बताए ।
उनले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्ने बताए । उनले विगतको अनुभवहरूबाट आगामी दिनका संसदीय गतिविधिहरूलाई प्रभावकारी बनाउँदै लानुपर्ने बताए ।
उनले चालु अधिवेशनमा संसदीय काम, कारबाहीले गति लिएका पनि बताए ।
उनले भने ‘माननीय सदस्यहरू, प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुँदै गर्दा माननीय सदस्यहरूले आज राख्नुभएका समीक्षात्मक अभिव्यक्तिप्रति मेरो पनि गम्भीर ध्यानाकर्षण भएको छ । हामीले चालु अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरू प्रभावकारी बनाउँदै लैजानुपर्दछ । संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरूको हो । चालु अधिवेशनमा संसदीय काम, कारबाहीले गति लिएका छन् । समितिहरूले सक्रियतापूर्वक काम सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तरलाई नियमित र व्यवस्थित गर्ने अभ्यास सुरु गरिएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसदलाई आगामी दिनमा लोकतन्त्रलाई थप योगदान दिन सक्नेगरी अभ्यास गर्न, राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन हामी सबै गम्भीर हुनैपर्ने कुरा राख्न चाहन्छु ।’
संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ ।








