संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ : नेकपा माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।
उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसदबाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए ।
उनले संक्रमणकालीन न्याय नटुङ्गिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरू उठेको बताए । उनले विश्वमाझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको बताए ।
उनले भने ‘शान्ति प्रक्रिया टुंगो लागेको छैन । यसलाई टुंगो लगाउनुपर्नेछ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रश्न खडा भएका छन् । पीडितहरूको परिपूरणका कुरा छन् । आदि कुरा रोकिएको छ । यसलाई हर हालतमा टुंगोमा पुर्याउनुपर्छ भन्ने सहमति भएको छ । एक खालको सहमति भएको छ । यो दिने, यो लिने भन्ने प्रसङ्ग उठेको छैन । समितिमा टिआरसी बिलको बारेमा सहमति भइसकेको छ । अब यो फुल हाउसबाट हिउँदे अधिवेशनमा पारित गर्ने सहमति भएको छ ।’
प्रवक्ता सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु बहुआयामिक महत्वको विषय भएको बताए । उनले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु र विश्व शान्तिको अपिल गर्नु महत्वपूर्ण भएको बताए ।
उनले भने ‘संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आउनु भयो । यो बेलामा आउनु भनेको धेरै महत्वपूर्ण कुरा हो । अहिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक चलिरहेको बेलामा नेपाल आउनु बहुआयामिक महत्व छ । बहुआयामिक सन्देशको इस्यु हो । यसले के सन्देश दियो भने नेपाल बुद्ध जन्मेको देश हो, बुद्ध जन्मेको देश भएको विश्व शान्तिको अपिल गर्नुभयो । बुद्ध जन्मिएकै ठाउँबाट गर्नुभयो । यसको धेरै ठूलो महत्व छ । बुद्ध भूमिमै आएर शान्तिको सन्देश पठाउनु ठूलो कुरा हो ।’
प्रवक्ता सापकोटाले महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम मौलिक ढंगबाट टुंग्याउनुपर्ने र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पुर्याउन सहयोग पुगेको बताए ।








