सुपारी आयात–निर्यातमा चलखेल भएको हुनसक्ने सांसदहरूको आशंका

काठमाडौँ । सांसदहरूले सुपारी आयात—निर्यातमा चलखेल गर्न खोजेको आशंका व्यक्त गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले विभिन्न चलखेल गरी सुपारी आयात—निर्यातको बाधा फुकाउने काममा समितिलाई अलमल्याउने काम भइरहेको भन्दै आशंका व्यक्त गरेका हुन् ।

उनीहरूले नेपालमा उत्पादन सुपारी आयात—निर्यात खोल्ने विषय समितिमा छलफल गर्न लगाएर बाहिर अर्कै चलखेल भइरहेको हुनसक्ने बताए ।

सांसदहरूले सरकारले सुपारी निर्यात—आयात सम्बन्धी कार्यविधि २०६८ नै सुपारी निर्यातको बाधक भएको भन्दै परिमार्जन गर्न आवश्यक रहेको बताए ।

उनीहरूले समितिमा सुपारी किसानको कुरा उठाए पनि वास्तविक किसानको कुरा नै नभएको बताए । सांसदहरूले अन्य कृषिजन्य वस्तुहरूको आयात निर्यात गर्न सरकारले विशेष निर्णय गर्न नपर्ने तर सुपारीमा छुटै विशेष निर्णय गर्नुपर्ने कारण माग गरे ।

सांसदहरूले सरकारले वास्तविक सुपारी किसानहरूको तथ्याङ्क यकिन गरी राख्न आवश्यक रहेको बताए । उनीहरूले नेपालमा सुपारीको आयात निर्यातको विषयमा विभागका निर्देशकदेखि मन्त्रीको समेत जागिर जाने गरेको भन्दै बिचौलियाहरूले समितिलाई पंगु बनाएर बाहिर चलखेल गरेको बताए ।

बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले सुपारी आयात निर्यातको विषयमा सचिवदेखि मन्त्रीको समेत जागिर जाने अवस्था रहेको बताए ।

उनले सुपारीको निर्यात सजिलै रूपमा खोल्न नहुने बताए । उनले सुपारी निर्यात खोल्न समितिलाई मोहरा बनाएर बाहिर अर्कै चलखेल भइरहेको दाबी गरे ।

सांसद श्रेष्ठले सबै क्षेत्रमा शतप्रतिशत सुपारी उत्पादन भएपनि १४ हजार मात्रै सुपारी उत्पादन हुने बताए । उनले समितिमा सुपारीको निर्यात खोल्न माग गर्दै उजुरी गर्नेहरू केही समय पहिला सुपारी निर्यात बन्द गर्नुपर्छ भन्दै आएको दाबी गरे ।

उनले सुपारी आयात निर्यात गर्नुपर्छ भन्ने बिचौलियाहरू आवश्यकताअनुसार चल्ने बताए ।

नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले बारम्बार उद्योग समितिमा सुपारीको मात्रै छलफल किन गर्नुपर्ने रु भन्दै प्रश्न गरे । उनले पनि बाहिर सुपारीको अर्कै चलखेल भइरहेको भन्दै चलखेल फुकाउने काम समितिलाई दिएको बताए ।

उनले सरकारले सुपारी निर्यात आयात सम्बन्धी कार्यविधि २०६८ नै सुपारी निर्यातको बाधक भएको भन्दै परिमार्जन गर्न आवश्यक रहेको बताए ।

समितिमा बोल्दै सांसद हेमराज राईले सरकारले नेपाली किसानले उत्पादन गरेको सुपारीलाई निर्यात गर्न सहजीकरण गर्न आवश्यक रहेको बताए । उनले सरकारले वास्तविक सुपारी किसानहरूको तथ्याङ्क यकिन गरी राख्न आवश्यक रहेको बताए ।

समिति बैठकमा सांसदहरूले सुपारी वास्तविक किसानको समस्या पहिचान गरी सरकारले समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनीहरूले सरकारले सुपारी आयात निर्यात गर्ने डिएनए परीक्षण लगायतका विषयमा आवश्यक प्रक्रियाको व्यवस्था गरी निर्यात गर्ने वातावरण बनाउनु जरुरी देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =