समानुपातिक निर्वाचन प्रणाली महिलाहरू मात्रै भर्ना हुने किसिमले बनाइयो : सांसद अधिकारी

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले समानुपातिक निर्वाचन प्रणाली महिलाहरू मात्रै निर्वाचित हुनेगरी बनाइएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समानुपातिक निर्वाचन प्रणाली महिलाहरू मात्रै भर्ना हुने किसिमले बनाइएको बताएका हुन् ।
उनले वर्तमान प्रणालीले गर्दा जुनसुकै समूहबाट पनि महिला मात्रै जानुपर्ने अवस्था रहेको बताए । उनले महिलाहरू प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने मान्यता बनाइएको भन्दै यसरी कानुनी रूपमा नै विभेद भइरहेको बताए ।
उनले भने ‘निर्वाचन आयोगलाई यसमा कानुनले अलि बढी पावर दिएर, साँच्चै हामीले स्वच्छता चाहेको हो भने निर्वाचन खर्चलाई कम गराउन खोज्ने हो भने यस्ता प्रणालीहरू नअपनाई सम्भव हुँदैन । समानुपातिक निर्वाचन प्रणाली महिलाहरू मात्रै भर्ना हुने किसिमको बनाइएको छ । हाम्रो कानुन, व्यवस्था, प्रणालीले चाहे जुनसुकै समूहबाट लिएपनि अत्यधिक महिला मात्रै जानुपर्ने भो । अर्थात् महिलाहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने मान्यता बनायौँ । कानुनले नै विभेद गरिराखेको स्थिति छ । प्रत्यक्षमा पनि त्यसैगरी आरक्षित गरिदिने हो भने महिला, दलित, पिछडिएको क्षेत्रलाई प्रत्यक्षमा पनि गर्यौँ भने त्यो समान अवसर आउँछ । हामीले विभेदपूर्ण ढंगले गरिरहेका छौँ ।’
उनले महिला, दलित, पिछडिएको क्षेत्र लगायतलाई प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै आरक्षण दिनुपर्ने बताए । उनले स्वच्छ निर्वाचन गर्नका लागि निर्वाचन आयोगलाई कानुनी रूपमा अझै अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।








