मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राखौँ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले मतदाता शिक्षाको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न प्रस्ताव गरेका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् ।

उनले निर्वाचन आएपछि मात्रै मतदाता शिक्षाको सामग्रीहरू छाप्ने र शिक्षक तथा विद्यार्थीहरुमामार्फत प्रचार गराउने गरिएको भन्दै यसो गर्दा खर्चिलो हुने गरेको बताए । उनले विद्यालयको पाठ्यक्रममै मतदाता शिक्षाबारे राखेमा प्रभावकारी हुने र खर्चलाई मितव्ययी बनाउन सकिने बताए ।

उनले भने ‘हामी विद्यालयको पाठ्यक्रमभित्र राखौँ के–के हो निर्वाचन शिक्षा दिनुपर्ने ? के–के हो मतदाता शिक्षा दिनुपर्ने ? पाठ्यक्रम भित्र राख्यौँ भने विद्यार्थी, शिक्षक तयार भएका हुन्छन् । यिनलाई नयाँ प्रशिक्षण दिनुपर्दैन । छपाई पनि गर्नुपर्दैन । शिक्षा मन्त्रालयलाई तपाईँहरूले दिनुपर्ने शिक्षाको विषयवस्तु दिनुभयो भने पाठ्यक्रममा समावेश हुनसक्छ र सधैँका लागि समाधान हुनसक्छ । निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन तीनवटै निर्वाचन एकसाथ हुनसक्ने कानुनी व्यवस्था गरिदियौँ भने राम्रो हुन्छ । राष्ट्रिय रूपमा बजेटको बचत गर्न सकिन्छ ।’

त्यसैगरी निर्वाचन प्रणालीलाई मितव्ययी बनाउनका लागि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =