पर्यटन ऐनहरू समय सापेक्ष बनाउन जरुरी : पर्यटनमन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरू समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधवार नेपाल पर्वतारोहण संघको ५० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले पर्यटन ऐनहरू पुरानो भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए ।
उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताए । उनले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गरे ।
उनले भने ‘पर्यटनको मौलिकता हुन् । यसलाई हामीले विश्व समुदायमा नयाँ ढंगले ब्राण्डिङ गर्नसक्यौँ भने पर्यटनबाट समृद्धि सम्भव छ । पृथ्वीको हिमाल जलवायुको प्रतीक पनि रहेछ । जलवायुमा परिवर्तन हुँदै जाँदा हिमालहरू कालो हुँदै आउने दृश्यहरू हामीले देखेका छौँ । संयुक्त राष्ट्रसंघका महामहिम महासचिवले हिजो संसदमा भन्नुभयो विशेष महत्व दर्साउँदै हिमाल असामान्य रूपमा पग्लिरहेको छ । नेपालले ३० वर्षदेखि यता धेरै ठूला विनाशकारी घटना व्यहोरिरहेको छ । समुन्द्रमा पानीको सतह बढीरहेको छ । संस्कृतिले ठूलो चुनौती व्यहोरिरहेको छ । हिउँ पहिरो बढी जाने सम्भावना बढेको छ । जलवायु परिवर्तनको समाधान विश्वको साझा चुनौती बनेको छ । हामीले हाम्रो देशको हिमालको रक्षा गर्नसक्यौँ भने मात्रै नेपाल रहन्छ । पर्यटन ऐनहरू पुरानो छ, समय सापेक्ष गर्नुपर्ने छ । जहाजको भाडा विदेशी पाहुनालाई डबल गरेका छौँ । त्यसले नकारात्मक सन्देश विश्वमा गइरहेको छ । निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता छ ।’
मन्त्री किराँतीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौती रहेको बताए । उनले नेपालमा पर्यटनबाट समृद्धि सम्भव रहेको बताए ।








