गुटेरेसले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको बताएका छन् ।

मङ्गलवार महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा अध्यक्ष ओलीले संसदमा गरेको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद समेत व्यक्त गरे ।

उनले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्याङ्कन गरेको धारणा राखे । गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामना समेत गरेको बताए ।

उनले वातावरणीय विनाश रोक्न नेपालले दिएको योगदानको पनि खुलेर महासचिव गुटेरेसले प्रशंसा गरेको पनि बताए ।

अध्यक्ष ओलीले भने ‘संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले केही महत्त्वपूर्ण विषयहरू प्रकाश पार्नुभएको छ । नेपालको संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले वातावरणको बारेमा, त्यसै गरेर गरिबी निवारणको बारेमा, अरू शान्ति प्रक्रियालाई टुङ्ग्याउने बारेमा, विभिन्न विषयमा उहाँले प्रकाश पार्नु भएको छ । र, नेपालको, नेपाली राष्ट्रको उहाँले राम्रो मूल्याङ्कन गर्नुभएको छ । र, गरिब देशहरूलाई सम्पन्न देशहरूले सहयोग, समर्थन गर्नुपर्छ । र, संयुक्त राष्ट्र संघमा जनाएका प्रतिबद्धता अनुरूप वातावरणीय विनाश रोक्न नेपालको सजगता र योगदानप्रति उहाँले विशेष प्रशंसा गर्नुभएको छ । र, शान्ति प्रक्रियालाई उपयुक्त ढङ्गले पीडित केन्द्रित भएर ट्रान्जिशनल जष्टिस उनीहरूलाई उपलब्ध गराएर नेपालको सुप्रिम कोर्ट र विश्व मानव अधिकार परिषदका सुझावहरू समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नु पर्छ । सकेसम्म छिटो समाधान होस् भन्ने कामना गर्नुभएको छ । र, म मेरो पार्टीको तर्फबाट उहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु । हामी हामी सिङै संसदले उहाँलाई धन्यवाद भनेका छौँ । उहाँको सम्बोधन संक्षिप्तमा भन्दा धेरै राम्रो छ ।’

अध्यक्ष ओलीले महासचिव गुटेरेसले आफ्नो सम्बोधनमार्फत गरिब देशहरूलाई सम्पन्न देशहरूले सहयोग र समर्थन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =