टी-२० विश्वकप एसिया छनोट : मलेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

१ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा कुशल मल्लले ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रन बनाए। नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जिततर्फ अगाडी बढाए।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। कुशल भुर्तेल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए ।

दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए ।

त्यस्तै, रोहित पौडेल २ रनमा आउट भए । मलेसियाका अमिर अजिमले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

मलेसियाका लागि सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए। ४९ बलको सामना गरेका अजिजले ८ चौका र २ छक्का प्रहार गरे। १५ औं ओभरको चौथो बलमा गुलसन झाको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।

जुवैदी जुलकिफ्ली २४ रन बनाउदा अविनास बोहोराको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। सरविन मुनियान्डी १३ रनमा क्याच आउट भए।

पहिलो विकेटका लागि साइद अजिज र जुवैदी जुलफीक्रीले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए।

विजय उन्नी १३ रनमा नटआउट रहे। मलेसियाका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके।

नेपालका लागि अविनास बोहोराले चार विकेट लिए। सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक विकेट लिए।

मलेसियालाई हराएसंगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *