अद्भुत हिमाल र हिमनदीहरू जोगाउनुपर्छ : गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् । मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव गुटेरेसले जलवायु अनुकूलनको लागि बनाइएका कोषहरूको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरूले पाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरूलाई आग्रह गरे । जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिम नदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन् । धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ यसलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु । पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोषहरू पनि छन् । यी कोषहरू क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन् । त्यसको उपयोग हुनुपर्छ ।’

महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =