लुम्बिनी पुगे राष्ट्रसंघका महासचिव गुटेरेस, प्रधानमन्त्री प्रचण्डले गरे स्वागत 

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी पुगेका छन् । मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका हुन् ।

महासचिव गुटेरेस गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी हेलिकप्टरबाट आए । महासचिव गुटेरेसको स्वागतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी पुगेका थिए । महासचिव गुटेरेस पोखराबाट सिधै लुम्बिनी गएका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाडौँबाट लुम्बिनी पुगेका हुन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरेका छन् ।

महासचिव गुटेरेस डेढ घण्टा लुम्बिनीमा औपचारिक कार्यक्रममा रहने लुम्बिनी विकास कोषले जनाएको छ । गुटेरेसले शान्ति दीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गर्नेछन् । शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल जानेछन् ।

करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि सन् २००८ नोभेम्बरमा वान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए । गुटेरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *