मधेस प्रदेश सभाको रिक्त समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेश सभामा खालि रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो ।
समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेस प्रदेश सभामा रिक्त समानुपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको बताए ।
उनले बैठकमा सङ्घीय संसदमा पेस हुन लागेका ऐनहरूको बारेमा पनि बैठकमा छलफल भएको बताए ।
उनले भने ‘कार्यकारिणी समितिको बैठक मधेस प्रदेशमा एक जना प्रदेश सभा सभासद्को देहावसान भयो । उहाँको मृत्युपछि उहाँको सिट खालि छ, त्यसको पूर्ति हो । पछिल्लो समय केही ऐनहरू संसदमा आएका छन्, त्यसबारेमा कस्तो ऐन छ, के छ ? त्यसका बारेमा चर्चा छलफल भएको हो । सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय भएको छ । सरकारको बारेमा कुनै छलफल भएको छैन । विभिन्न ऐनहरूका आउँदैछ, ती ऐनहरूका बारेमा कस्तो छ भन्नेबारेमा छलफल भएको छ । शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतमा छलफल भयो ।’
नेता अधिकारीले शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतका बारेमा बैठकमा छलफल भएको बताए ।








