राष्ट्रसंघका महासचिव गुटेरेस पोखरा पुगे, भोलि बिहानै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा पुगेका छन् । उनी आउने भएपछि अन्नपूर्ण आधार शिविरमा स्वागत कार्यक्रमको तयारी गरिएको थियो ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं।११ का वडाध्यक्ष हिमबहादुर गुरुङसहितको टोली तयारीको अन्नपूर्ण आधार शिविर पुगेको हो ।

सोमबार पोखरामै बास बसेर मङ्गलवार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने तालिका छ । त्यहाँ करिब आधा घण्टा बिताएर उनी फेरि पोखरा फर्किनेछन् ।

‘यहाँ उहाँको लामो समय छैन । मिल्यो भने जलवायु परिवर्तनले एबिसीमा पारेको असर उहाँलाई भन्ने हाम्रो योजना छ’, वडाध्यक्ष गुरुङले भने, ‘पहिले यो ठाउँ कस्तो थियो, अहिले कस्तो भयो । हिउँ कसरी बिलायो, ग्लेसियर कसरी फुटे, कसरी सुके सबै भन्ने योजना छ ।’

आधार शिविरमा महासचिव गुटरेसले सामान्य चियापानमात्रै गर्नेछन् ।

एबीसीबाट ७ः५० मा पोखरा फर्किएपछि पत्रकारसँग पनि कुराकानी गर्नेछन् । त्यसपछि उनी बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट सिधै भैरहवा विमानस्थल अवतरण गरेर लुम्बिनी प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *