रत्नपार्कमा ग्राण्डी इन्टरनेशनल हस्पिटलको स्वास्थ्य शिविर (तस्बिरहरू)

काठमाडौं । आज विश्व पक्षाघात दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । विश्व पक्षाघात दिवसको अवसरमा आइतबार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षाघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूले जनचेतनामूलक कार्यक्रम गरेर मनाइएको हो ।
विश्व पक्षाघात दिवसको अवसरमा आज काठमाडौँको रत्नपार्कमा जनचेतनामूलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो । साथै ग्राण्डी इन्टरनेशनल अस्पतालले सो अवसरमा आज रत्नपार्कको शान्ति बाटिकामा स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।
स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै ग्राण्डी इन्टरनेशनल हस्पिटलका न्युरोलोजिस्ट राजु पौडेलले पक्षाघातबाट बच्ने उपायका प्लेकार्डहरु बोकेर वाकथन गरेको र स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । नेपाल पक्षाघात संघका अध्यक्षसमेत रहेका उनले पक्षाघात धेरैजसो वृद्धहरूमा हुने भएकाले वर्षमा एकपटक पूर्णरुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । बालबालिकामा पनि पक्षाघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन उनको आग्रह छ ।
उनले भने, ‘जनचेतनाका लागि हामीले विभिन्न पक्षाघातबाट बच्ने उपायका प्लेकार्डहरु बोकेर वाकथन गरेका छौँ । यो कार्यक्रम देशभरका विभिन्न शहरमा गरेका छौँ । पक्षाघात धेरैजसो बुढो उमेरमा हुन्छ, बालबालिकामा पनि समस्या देखिन्छ, कुनैपनि उमेरलाई छोड्दैन, तर यो धेरैजसो ६० वर्षपछि बढी देखिन्छ । मुटुको समस्या भएकालाई पक्षाघातले असर गर्छ । हामीले चेकअप गरिरहनु पर्छ । बाहिरी खानेकुराहरु कम गर्दै जानुपर्छ । अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आए, साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिन्छ ।’
उनले अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए लक्षण देखिएको साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिने बताए ।








