०८४ मा सबै राजनीतिक दललाई बाईबाइ गर्नुपर्छ : सभापति लामिछाने
२०८० कार्तिक ११ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताए ।
उनले दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौँ गर भन्ने चुनौती दिएको बताए । उनले आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने बताए ।
उनले भने ‘हाम्रो आँखै अगाडि नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आएका छन् । स्थानीय तहमा एक सय एक होनहार मानिसहरू आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ ? आएर भनेर हामीलाई चुनौती दिए ठाडै । हेर्दा हेर्दै । यस्ता कयौँ बेथितिका चुनौतीहरू दिएका छन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईँहरूको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाई बाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला । एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाई थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ? नेपालीहरूको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरूलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन् ।’
सभापति लामिछानेले नेपालीहरूको सुनौलो भविष्य भन्ने दल र नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए ।
२०८० कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित








